काठमाडौंः सेल्टा भिगोलाई पराजित गर्दै बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४–१ ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक र सर्जियो बुस्केट्सले एक गोल गरेका थिए । यस्तै, सेल्टाका लागि लुकास ओलाजाले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा सेल्टाका ओलाजाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को अग्रता दिलाए ।


४८ औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । ८५ औं मिनेटमा सर्जियोले गोल गर्दै बार्सिलोनालाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोना १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा छ । समान २५ अंक रहेपनि रियल म्याड्रिड गोलअन्तरले दोस्रो स्थानमा रहेको छ । पराजित सेल्टा ९ अंक जोडेर रेलिगेसन जोनको १८ औं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, १२:०६