काठमाडौंः मुलुकी ऐनको पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष उमेर पूरा गर्नुपर्ने प्रावधान भए तापनि हाम्रो समाजमा बालविवाहजस्ता सामाजिक कुप्रथा कायमै छन् । नेपालको संवैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बालविवाहलाई पहिलो पटक बालअधिकार हनन विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ । नेपाल बालविवाह गर्ने दक्षिण एसियाली मुलुकका प्रमुख देशहरुमध्ये बंगलादेश र भारतपछि तेस्रो स्थानमा पर्दछ।

युनिसेफले सन् २०१६ मा प्रकाशित गरेको तथ्यांक अनुसार नेपालमा ३७ प्रतिशत बालिका १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । यसैगरी १० प्रतिशत बालिका १५ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् ।


विस २०६८ को जनगणना अनुसार नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखिन्छ । त्यसमध्ये पनि एक लाख १५ हजार १ सय ५० बालिका रहेको तथ्यांकले देखाएको छ । कपिलवस्तु जिल्लामा महिला तथा बालबालिका कार्यालयले २०७३ मा गरेको एक अध्ययन अनुसार ७४ प्रतिशत विवाह २० वर्ष नपुग्दै गरेको पाइएको छ ।

तराईमा दहेज प्रथाका कारण चाँडै विवाह गर्ने प्रचलन रहेको छ । यसैगरी पश्चिम तथा विभिन्न विकट गाउँहरुमा अझै पनि धार्मिक रुपमा महिनावारी हुनुपूर्व बालिकाको विवाह गर्नाले बाआमा स्वर्ग जान पाउने धार्मिक विश्वास रहेको छ ।

अभिभावकले गरिबीको कारण आफ्नो जिम्मेवारीबाट मुक्त हुन पनि छोरीको सानै उमेरमा विवाह गरिदिने प्रचलन छ भने कहीं छोरीलाई जति पढायो उति बढी दाइजो बढायो भन्ने मान्यताले सानैमा विवाह गरिदिँदा कम दाइजो भए पुग्छ भन्ने सोचले बालविवाह गरिँदै आएको छ । बालविवाहको कारण अन्धविश्वाससँगै अहिले सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगले स्वेच्छाले परिवारको स्वीकृतिबिना भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ।

विशेषगरी तराईका जिल्लाहरुमा तुलनात्मक रुपमा बालविवाह बढी हुने गरेको अध्ययनले देखाएको छ । विकट पहाडी जिल्ला अछाम, वैतडी, बाजुरा, डोटी, बझाङ आदिमा पनि बालविवाहको दर उच्च रहेको पाइन्छ । नेपालमा धनीहरुको तुलनामा गरिबहरुको र गैरदलितहरुको तुलनामा दलितहरुको विवाह तुलनात्मक रुपमा कम उमेरमा भएको पाइन्छ । यी विविध कारणले गर्दा समाजमा बालविवाह एक जटिल समस्याको रुपमा देखिएको छ ।

हालै पाल्पामा बालविवाह बढदै गएपछि मावि र माथिल्लो तहमा अध्ययनरत विद्यार्थी मिलेर त्यसलाई रोक्ने प्रतिबद्धता जनाएका छन् । रैनादेवी छहरा ७ बल्ढेङगढीका बालबालिकाले बालविवाहको विरोधमा एकजुट हुने प्रतिबद्धता जनाएका हुन् । आउँदा दिनमा गाउँपालिका, वडा कार्यपालिका र विभिन्न संस्थाको सहयोगमा यसको विरोधमा जनचेतना अभिवृद्धि गरेका हुन् । किशोरी र बालबालिकाले बल्ढेङगढीका साथै छिमेकी जुठापौवा र सत्यवतीमा पनि बालविवाहलाई निरुत्साहित गर्न सक्रिय हुने बताए । जुठापौवा, सत्यवती, बल्ढेङगढीमा १५ वर्ष नपुग्दै विवाह गर्ने चलन अत्यधिक छ । आदिवासी, जनजाति र दलित बस्तीमा यस्तो समस्या बढी भएको पाइन्छ । बालविवाह विरुद्ध तालिम लिएपछि दुई वर्षदेखि बालविवाहविरुद्धको अभियान चलाउँदै आएको र यसलाई न्यूनीकरण गर्नेतर्फ त्यहाँका विद्यार्थी र किशोरी लागिपरेका हुन् ।

पाल्पामा मात्र नभई कपिलवस्तु, रुपन्देही जस्ता देशका विभिन्न भागमा समेत विद्यार्थी तथा किशोरीहरुले बालविवाह विरुद्ध आवाज उठाउन थालेका छन् । रूपन्देहीको मर्चवारी गाउँपालिका ७ मंजरियाकी एक किशोरीले १३ बर्षे उमेरमा बाआमाले विवाह गरिदिन खोजेपछि साथी गुहारिन । उनका साथीहरुले १२ पास नगरिन्जेलसम्म विवाह नगर्दीन आग्रह गरे र विवाह रोकियो । रुपन्देहीमा बालिकाका साथसाथै बालकको पनि बालविवाह हुने गरेको छ । समरिमाई गाउँपालिका १ का एक युवकले पनि साथीहरुको सहयोगमा आफ्नो बिवाह रोकेका थिए । रुपन्देहीका दक्षिन भेगका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बजिया, कलवार, पासी, पासवान, मौर्य, थारु लगायतमा अजाही बालविवाहको चलन कायमै छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बालविवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हकको स्थापित गरेको छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैको लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनत दण्डनीय हुन्छ । साथै यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले स्वत वदर हुने र कसूर गर्ने व्यक्तिलाई एक वर्ष सम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने भनिएको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले नेपालमा सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने उद्देश्य लिएको छ । यी सबै ऐन, कानून, नीति, कार्यविधिको व्यवस्था भएता पनि नेपालमा बालविवाह कम हुन सकेको छैन ।

गाउँगाउँमा सचेतना, तालिम, घरदैलो अभियान जस्ता कार्यक्रमलाई संचालन गरि बालविवाहमा कमि ल्याउन सकिन्छ । त्यस्तै अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेर मै विवाह गर्न बाध्य हुन्छन् । तसर्थ उनीहरुलाई वैकल्पिक शिक्षा, प्रौढ शिक्षामा जोड दिनु आवश्यक छ । यसका लागि सरकारसगै गैरसरकारी संघसंस्थाहरुले लक्षित वर्गसम्म अझ शसक्त र प्रभावकारी काम गर्न सके बालविवाह कम हुनसक्छ ।