काठमाडौंः बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन् ।

मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरणका कारण कुनै प्रकारका संक्रमण हुन नदिन बालुवाटारमा नयाँ ‘सेटअप’ गर्न लागिएको हो । त्यसका लागि निवासभित्र र परिसरको विशेष सरसफाइ गरिँदै छ । संक्रमणका स्रोतहरुको पूर्ण निर्मलीकरणका उपाय अवलम्बन गरेपछि मात्र ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक छन् ।


प्रधानमन्त्री निवास पहिलाभन्दा केही सानो भएकाले सबै प्रकारको व्यवस्था मिलाउन कर्मचारीलाई हम्मे परिरहेको छ । ‘प्रधानमन्त्रीज्यूलाई संक्रमणको जोखिम छ, कसलाई कहाँसम्म जान दिने र कहाँ बसेर बैठक भेटघाट गर्ने भन्ने सेटअप मिलाइँदै छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् बैठकदेखि अन्य महत्त्वपूर्ण बैठक गर्नैपर्छ । भेटघाट हुन्छ । त्यस्तोमा कसलाई कतिसम्म नजिक जान दिने भन्ने चाँजोपाँजो मिलाइँदै छ ।’

बालुवाटारको प्रधानमन्त्री निवास हातामा दुई मुख्य भवन थिए । प्रधानमन्त्री निवास र मुख्य सचिव निवास । प्रधानमन्त्री निवास रहेको पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु गरिएपछि प्रधानमन्त्री ओलीको बसाइ मुख्य सचिव निवासमा छ । अहिले त्यही भवनमा सरसफाइ भइरहेको हो । उक्त भवन प्रधानमन्त्रीको पुरानो निवासभन्दा केही साँघुरो छ । यो समाचार आजको कान्तिपुर मा छ ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , ०७:४४