काठमाडौं: बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।

चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत् प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हरेक क्षेत्रीय कार्यालयले बढी विद्युत् चुहावट हुने जिल्लामा नियन्त्रण अभियान नै चलाउन लागेको जानकारी दिए ।


। ‘विद्युत् चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माइकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्नेलगायतका काम अभियानकै रुपमा मुलुकभर सञ्चालन गर्दैछौं’, उनले भने, ‘ठूला ग्राहक ९थ्री फेज० को पनि मिटर चेक गरिनेछ।’

प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । गत आर्थिक वर्ष २०७३/७४ मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइन सुदृढीकरणलगायतका काम जारी राखेको छ । नागरिक दैनिकमा समाचार छ ।