काठमाडौंः बंङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक) को मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ ।

श्रीलंकाले आयोजना गरेको भर्चुअल मन्त्रीस्तरीय बैठक अपराह्न ३ बजे सुरु हुनेछ ।

नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् । उनीसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनेछ ।

बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ  ।

यसअघि बुधबार भर्चुअल रुपमा सचिवस्तरीय बैठक बसेको थियो ।


। बैठकले आज भर्चुअल रुपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भर्चुअल रुपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए ।

बिमस्टेकका सदस्य राष्ट्रहरुमा नेपालसहित बंगलादेश, भुटान, भारत, श्रीलंका, म्यानमार र थाइल्यान्ड रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, ०७:५३