नेपालको राजनीतिक इतिहासमा बीपीको योगदान विशिष्ट छ । उनको प्रजातान्त्रिक अवधारणा अर्थात् लोकतन्त्र होस् या समाजवादको नीति नेपालका राजनीतिक शक्तिको केन्द्रविन्दुमा छ । चाहे नेपाल कम्युनिष्ट पार्टी नेकपा होस् या कांग्रेस दुवैले यी दुई राजनीतिक अवधारणा छाड्न सक्ने अवस्था छैन । हुन त यी दुई सैद्धान्तिक अवधारणामा विषयान्तर भएका छन्, यी दुवै राजनीतिक घटकले यी देवै सिद्धान्तलाई व्यवस्थित रुपमा लिएर अघि बढाएका त छैनन् तर पनि गरिब जनताको बाहुल्य भएको अवस्थामा यिनलाई त्यागेर अघि बढ्न पनि कठिन छ । अर्को, बीपीको मेलमिलापलाई पनि नेपालका पार्टीहरुले बेवास्ता गरेर अघि बढ्न सक्ने अवस्था छैन ।


बीपीको समाजवाद

कांग्रेसले त बीपीको प्रजातान्त्रिक समाजवादलाई आफ्नो सिद्धान्तको केन्द्रमा राख्ने नै भयो नेपालको कम्युनिष्ट शक्तिले पनि समजवाद उन्मुख अर्थतन्त्र अघि बढाउने बताएको छ । हुन त अहिले खुला अर्थतन्त्रको विश्व परिवेशमा समाजवादमा जान त्यति सजिलो छैन तर पनि नेकपाले त्यतातिर जाने बताएको छ । अहिलेको परिवेशलाई हेर्दा कम्युनिष्ट पार्टीले पनि परम्परागत कम्युनिष्टको समाजवाद त लागू गर्न सक्दैन तर पनि सिद्धान्तलाई छाड्न सक्ने अवस्था छैन । खुला बजारलाई अघि बढाउँछौं पनि भनिरहेकाले उनीहरुले पनि प्रजातान्त्रिक समाजवादलाई नै अघि बढाउनुपर्ने अवस्था छ । उसले अगाडि सारेका केही कल्याणकारी अवधारणाले पनि बीपीकै समाजवादलाई नै केन्द्रमा राखेको स्पष्ट हुन्छ । नेपालको अहिलेको जनताको आर्थिक अवस्था, उत्पादनको वितरण, क्षेत्रीय असन्तुलन, जातीय आर्थिक अवस्थाले पनि बीपीको समाजवादलाई पूरै छाडेर कुनै पनि राजनीतक शक्ति अघि बढ्न कठिन छ ।

प्रजातन्त्र वा लोकतन्त्र

प्रजातन्त्र वा लोकतन्त्र नेपालको राजनीतिक चुरो बनाउने काममा बीपीको योगदान अत्यन्तै विशिष्ट छ । उनले २००७ सालको आन्दोलनलाई सफल पार्न होस् वा ०३६, ०४६ तथा ०६२–०६३ को आन्दोलन पनि बीपीकै अवधारणा अनुसार अघि बढे । नेपाली कांग्रेसले त बीपीको अवधारणालाई अघि बढाउने नै भयो कम्युनिष्ट घटकले पनि प्रजातन्त्रलाई बेवास्ता गरेर अघि बढ्न सक्ने अवस्था छैन । गतसाल भएका तीनै तहका निर्वाचनमा पनि एमाले तथा माओवादी गठबन्धनले लोकतन्त्रलाई नै केन्द्रमा राखेर जनतामाझ गएका हुन् । नेपालको जीवनचर्या नै अहिले लोकतान्त्रिक बन्न पुगेको छ ।

बीपीको परराष्ट नीति

नेपालको भौगालिक अवस्थिति, भूबनोट, छिमेकी र अन्तर्राष्टिय अवस्थालाई विचार गरेर बीपीले नेपालले असंलग्न परराष्ट नीति अपनाउनुपर्छ भनेर अघि बढे । उनले भारत तथा चीन दुवै छिमेकीसँग सम दुरीको नीति अपनाउनुपर्छ भन्ने कुरा अघि सोरको देखिन्छ । कतिपय पक्षमा उनलाई भारत परस्त भनेर दोष लगाउने गरिन्छ तर उनका लेख रचना र व्यवहारले त्यस्तो देखाउँदैन । भारतीय नेताहरु व्यक्तिगत रुपमा साथी भएकाले हिमचिम बढी देखिए पनि उनी सैद्धान्तिक रुपमा कहीं चुकेको देखिएका छैन । अहिले पनि नेपालको परराष्ट नीति पेचिलो बन्दै गएको छ । अहिलेको ओली सरकार पनि परराष्टनीतिमा बीपीलाई नाघेर अघि बढ्न सक्ने अवस्था छैन ।

आन्तरिक रुपमा बलियो हुनुपर्ने

बीपीले देश आन्तरिक रुपमा मजबुत भएर अघि नबढेसम्म छिमेकीले हेप्छन् भन्ने अवधारणा राखेको उनको लेख तथा अभिव्यक्तिले स्पष्ट पारेका छन् । नेपालका जातीय विविधतालाई विशेष प्राथमकता दिनुपर्ने उनको सिद्धान्त तथा व्यवहारले पनि स्पष्ट पारेका छन् । पहाड होस् या तराई वा हिमाल सबै क्षत्रका व्यक्तिलाई उनले आफ्नो पार्टीमा विशेष स्थान प्रदान गरेको देखिन्छ । उनले अघि सारेका विकासका योजनाले पनि त्यसलाई पुष्टि गरेको छ । उनले आर्थिक रुपमा पनि सबै सक्षम हुनु आवश्यक छ भन्ने मान्यता राख्थे । उनले आफ्नो समाजवादी नीतिमा जीवन निर्वाहका लागि सामान्य आवश्ययकता सबै नागरिकका पूरा हुनुपर्छ भन्ने कुरा स्पष्ट उल्लेख गरेका छन् । अहिले पनि त्यही नीतिलाई सबै पार्टीले अवलम्बन गरेर अघि नबढी नहुने अवस्था छ ।

बीपीको मेलमिलापको नीति

स्वर्गीृय बीपी कोइरालाको मेलमिलापको नीतिलाई विशेष रुपमा लिइन्छ । उनले लेखेका पुस्तक, अन्तर्वार्ता तथा अन्य इतिहासलाई केलाएर हेर्दा उनको यो नीति देशभक्तिले ओतप्रोत देखिन्छ । कतिपय कुरामा विमति भए पनि देशभित्रका सबै शक्तिबीच मेलमिलाप नभएसम्म बाह्य शक्तिको सामना गर्न सकिन्न भन्ने बीपीको अवधारणा देखिन्छ । बीपीले २०३३ सालमा मेलमिलाप नीति लिएर आफ्ना अन्य नेता कार्यकर्तासहित नेपाल आएका थिए । त्यसबेला उनको लडाइँ राजासित थियो । उनी भारत निर्वासनमा रहँदा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ठूलो फाइदा लिन उनलाई प्रयोग गर्न खोजिन् । त्यस अवस्थामा बीपीले बरु नेपालमा गएर राजासँग मिलेर जान्छु, उनीसित संघर्ष पनि गर्छु तर देशलाई घाटा हुने कुनै पनि सम्झौता गर्दिन भनेर नेपालमा आए । त्यस बेला उनले अत्यन्तै खतराको सामना गरेका थिए । उनी त्य बेला मारिन पनि सक्थे । यसलाई प्रवाह नगरी उनले त्यसबेला कांग्रेस र राजाको घाँटी जोडिएको छ भनेका छन् । यो अभिव्यक्तिलाई कसैले बीपी राजा राख्ने पक्षमा थिए भन्छन् तर बाह्य रुपमा सिर्जित विसम अवस्थामा देशभित्रका सबै शक्ति जुटेर अघि बढ्ेर देशको सार्वभौमसत्ता जोगाउनुपर्छ भन्ने उनको अवधारणा देखिन्छ । त्यसबेलाको शक्तिशाली राजसंस्थासँग मिलेर गयो भने राष्ट जोगाउन सकिन्छ भन्ने उनको धारणा देखिन्छ । उनी तत्कालको अवस्थामा संवैधानिक राजतन्त्रबाट अघि बढ्नुपर्छ भन्ने मन्यता राख्थे । त्यो त्यस समयको माग थियो । त्यसबेलाको पार्टीहरुको अवस्था, तिनीहरुबीचको सम्बन्धलाई हेर्दा सामान्य संघर्षले राजसंस्था पूरै फाल्न सकिने थिएन । उनले राखेको यो अवधारणा हठी अथवा परम्परावादी नभएर प्रगतिशील देखिन्छ । समय, अवस्था ख्याल गरेर अघि बढे मात्र संघर्ष सफल हुन सक्छन् नत्र विफल हुने नै हो । पछि गणेशमान सिंह, मनमोहन जस्ता नेताले बीपीको यही मेलमिलाप नीतिलाई अनुशरण गर्दै अघि बढेकाले ०४६ को आन्दोलन सफल भयो, सबै पार्टी मिलेर अघि बढेकाले ०६२–०६३ मा राजसंस्था नै फ्याँक्न सफल भइयो । अहिले पनि बीपीको मेलमिलाप नीतिको सान्दर्भिकता छ । यसलाई अवलम्बन गरेर अघि बढ्ने हो भने मात्र देशले विकास गर्न सक्छ, अर्को, छिमेकीको हस्तक्षेप पनि हटाएर नेपाललाई सार्वभौम राष्टका रुपमा अघि बढाउन सकिन्छ ।

र अन्त्यमा

बीपीलाई सधै स्मृति दिवको अवसर पारेर कांग्रेसले सम्झन्छ । वृक्षरोपणदेखि अन्य विविध कार्यक्रम गरेर मनाउँछ । यस्तो कर्मकाण्डी व्यवहारले देशललाई फाइदा पुग्दैन । अहिले बीपीलाई एउटा पार्टीका राजनीतिक नेताका रुपमा मात्रै हेर्नु राम्रो होइन । बीपीलाई सम्झनेबित्तिकै उनले अघि सारेका नीति तथा अवधारणमा बृहत् बहस, छलफल र अन्तरक्रिया हुनु आवश्यक छ । बीपीले समय ख्याल गरेर इमानदारीसाथ अघि बढ्नुपर्छ भन्ने सन्देश पनि दिएका छन् । त्यसको केन्द्रविन्दु प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता उनको छ । लोकतान्त्रिक शासन व्यवस्था संविधानमा लेखेर मात्रै पुग्दैन त्यसलाई व्यवहारमा लागू हुनुपर्छ भन्ने उनको धारणा छ । अहिले पार्टीहरुले लोकतन्त्र भन्ने, नीति बनाउने तर पालना नगर्ने अवस्था छ । त्यसले लोकतन्त्र बलियो बनाउँदैन । अझ अहिले पार्टीहरुभित्र मौलाएको नेतातन्त्र यसको बाधक नै हो । बाह्य रुपमा प्रजातन्त्र देशको नीति भयो तर पार्टीभित्र आन्तरिक प्रजातन्त्र नुहुँदा देश सधै अस्थिर अवस्थामा रहन्छ । अहिले कांग्रेस वा कम्युनिष्ट दुवै घटकका पार्टीभित्र आन्तरिक प्रजातन्त्रको अभाव छ । यसमा सुधार हुन सके मात्र बीपीलाई सम्झेको सार्थक हुनेछ ।

  • भेषराज पोखरेल

प्रकाशित मितिः मंगलबार, भदौ २४, ०८:२३