नरेन्द्रबहादुर अर्याल

वि.सं. २०४३ – ४४ सालताका म माध्यमिक तहको विद्यार्थी थिएँ । देशमा पञ्चायती ब्यवस्थाको शासन अनि पढ्नु पर्ने उमेर भएता पनि विद्यालयमा राजनीति निकै चल्थ्यो साथै शिक्षकहरुबाटै चलाइन्थ्यो । एक पक्षले चलाए पछि अर्को पक्ष पनि के कम भनेर अघि बढ्थ्यो।
मलाई राम्रो सम्झना आउँछ । त्यो बेला गाउँका राजनीतिक अग्रजहरु आदरणिय सुर्य बहादुर खत्री, शेषकान्त गौतम, नुरराज बस्याल (पाल्पा) गंगा बहादुर बस्नेत लगायतहरुले हामी केटाहरु जम्मा भएर पढीरहेका घर खोज्दै गएर राजनीतिक कुराहरु र सिद्धान्त सिकाउनु हुन्थ्यो ।


। साथै पढ्नका लागि केही पुस्तकहरु पनि दिनु हुन्थ्यो । मैले आफ्नो पाठ्यपुस्तक पढ्न छोडेरै ति सामाग्रीहरु पढ्ने गर्थें । कम्युनिज्ममा माक्सबाद, लेलिनबाद, चीनमा माओको क्रान्ति, जर्मनमा हिटलर, लगायत, नेपालमा कम्युनिष्ठ संस्थापक पुष्पलाल श्रेष्ठ आदि । साथै कंग्रेसका सामाग्रीहरुमा नेपालका बिश्वेश्वर प्रसाद कोइराला भन्दा अरु खासै केही पढिएन।

जननायक बिश्वेश्वर प्रसाद कोइरालाको समाजवादका बारेमा मैले धेरै पढें । उनी भारत स्वतन्त्र संग्रामका सेनानी महात्मा गान्धीबाट प्रभावित थिए । हो, उनी कुनै अर्थशास्त्री थिएनन् तर त्यति बेलाको नेपालको परिवेश चिरफार राम्रोसंग गरेका थिए साथै उनको आर्थिक पक्ष दार्शनिक कार्लमाक्सको थियो, अर्को शब्दमा भन्दा उनी माक्सवादी थिए । उनले भनेका छन् “म कुनै आर्थिक विशेषज्ञ हैन तर जुन विकासले ग्रामिण जनतालाई पछाडी छोडिदिन्छ त्यो विकास विकास नै होइन । मेरो विचारमा शहरको सुविधामात्र हेर्ने, गाउँको वेवास्ता गर्ने विकास विकास नै हुन सक्तैन किनभने नेपाल गाउँ नै गाउँले भरिएको देश हो”।

“सबै नेपालीको एउटा घर होस्, घरमा एउटा दुहुनो गाई होस, सबै नेपालीको एक हल जोतको जमिन होस, सबैका छोराछोरीले स्कुल पढ्न पाउन्, बिरामी हुदा सबैले औषधी गर्न सकुन्, यही हो नेपालको सन्दर्भमा समाजवाद” । बिपि कोइरालाको यहि अंशले नै मलाई नेपाली कांग्रेसप्रति आकर्षण गरेको थियो । आफैमा कति सुन्दर छ यो अंश । यही नाराले नै मलाई कक्षा आठमा पढ्दा नै नेपाल विद्यार्थी संघको सदस्यता लिन प्रेरित गरेको थियो । मैले कांग्रेस भनेकै यहि अंश सम्झें, समाजवाद भनेकै यहि अंश सम्झें । नेपाल र नेपालीको हकमा यो अंश जति राम्रो नारा कुन वादले पो ल्याउन सक्ला र?

गुल्मी जिल्लाको अर्जै मा.वि. जहाबाटँ मैले माध्यमिक तहको अध्ययन वि.सं. २०४६ सालमा पुरा गरें । वि.सं. २०४६ सालको फागुनसम्म पनि गाउँमा अनि हामी भर्खरका केटाहरुलाइ वि.सं. २०४६ सालको आन्दोलन र परिवर्तनको कुनै आभाष थिएन । त्यो बेला सञ्चारको एकमात्र साधन रेडियो नेपालले सरकार विरुद्ध हुने आन्दोलनको समाचार दिने कुरै भएन । तर खबर भने पाईयो, नेपाली काँग्रेस र सात वामघटक मिलेर देशभर आन्दोलन गर्दै छन् रे।

जब देशभरी भुसको आगो जस्तै आन्दोलन चर्कियो, हामीमा पनि त्यो उत्साह थपियो । केही काँग्रेस र केही वामपन्थी समर्थक मिलेर हामीले पनि आन्दोलनमा सहभागितास्वरुप जुलुस निकाल्ने भयौं जसका लागि स्थान साविकको इस्मा गाविसको छेंडो (भञ्याङ्गं) रोज्यौं । २०४६ सालको चैत्र १९ गते त्यहाँबाट कालो झन्डा लिएर अर्जैको मुकाम पोखराबारी आउने तालिका बन्यो किनकी पोखराबारीमा माध्यमिक विद्यालय भएकोले शिक्षकहरु, विद्यार्थीहरु, बुद्धिजीविहरु र तत्कालिन पञ्चायती ब्यवस्थाका हर्ताकर्ताहरु समेत तेही नै जम्मा हुने भएकोलाई उनीहरु सबैलाई आन्दोलन देखाउने हाम्रो उद्देश्य थियो।

बहुदलिय ब्यवस्था – जिन्दावाद, पञ्चायती ब्यवस्था – मुर्दावाद, नेपाली काँग्रेस – जिन्दावाद, वामघटक – जिन्दावाद भन्ने नाराकासाथ करिब ५० जनाको हाम्रो जुलुस अघि बढेको थियो । यो लेख लेख्दा मलाई हाम्रो त्यो आन्दोलनका सहयात्री अर्जै निवासी तथा समाजसेवी स्व. जगत बहादुर अधिकारीको सम्झना आइरहेको छ । उहाँप्रति म श्रद्धाका फुल चढाउँछु । जब हामी पोखराबारी पुग्यौं, तत्कालिन पञ्चायतका हर्ताकर्ता देखे पछि आन्दोलनकारी साथीहरु उत्तेजित भएछन् र पञ्चे चोर देश छोड भन्ने नारा लगाए । यसै त आगो भएर बसेकाहरुमाथि त्यस्तो नाराले झन मट्टीतेल थप्ने काम गरेछ । हामीमाथि अन्धाधुन्ध ढुंगा बर्साए, कसैले आन्दोलनकारीकै हातका लट्ठी खोसेर बर्साए । हामी भाग्यौं तापनि हामी पञ्चायती ब्यवस्थाको विरुद्ध छौं भन्ने सन्देश पञ्चायती शासकहरुलाई दिन सक्यौं । विसं २०४६ साल चैत्र २६ गते राजा बिरेन्द्रले बहुदल घोषणा गरे तब देश बहुदलमय भयो । अरुबाट आफुले सिकेको राजनीतिको आधारमा हामी केही जनाको एउटा समुह बनाएर पश्चिम गुल्मीका धेरै ठाउँमा र बाग्लुङ्गका केही ठाउँमा पुगेर नेविसंघका एकाइहरु गठन गर्न सक्यौं । २०४८ मा संसदिय निर्वाचन भयो जसमा नेपाली कांग्रेसले ११५ सिट जित्न सफल भयो र २०४९ सालमा स्थानीय निर्वाचन सम्पन्न भयो । स्थानीय निर्वाचनमा पनि धेरै कांग्रेसकै स्थानीय सरकारहरु बने।

२०४४ – ४५ सालदेखिका मेरा सहयात्रीहरुसंगको सहयात्रा २०४९ को स्थानीय चुनावताका सम्म रह्यो । त्यसपछि उहाँहरुसंग छुट्टिन वाध्य भएँ म । मलाई वाध्य पारियो । २०४८ सालको शिक्षा आयोगमा मैले लिखित उत्तिर्ण गरेको थिएँ । उक्त शिक्षा सेवा आयोगको अन्तर्वाता समितिमा तत्कालिन जिल्ला शिक्षा अधिकारी मैले नचिनेका मान्छे थिए तर बाँकी सबै मैले चिनेका र मलाई राम्ररी चिनेका कांग्रेसीहरु थिए । म कुनै उच्च घरानाको जागिर नै खानु नपर्ने बाउको छोरा थिइन, थिएँ त एउटा कृषकको छोरा । यसै पनि त्यो बेला मैले मेरो बाउलाई भर्खर भर्खर गुमाएको थिएँ । अन्तरर्वाता समितिका धेरै सदस्यले चिनेका साथै मलाई अन्तरर्वातामा सोधेका प्रश्नहरुको उत्तर दिन सकेर पनि मलाई ३२ नं. रद्दीको टोकरीमा हाली दिएर कल्याण गरेछन् । पार्टीको सरकार र पार्टी समर्थकहरु अन्तरर्वाता समितिमा हुँदा पनि कार्यकर्ताको अवमूल्यन गरिदा ज्यादै मन दुख्यो । अन्य नेता गण भनाउँदाहरुले केही आश्वासन दिए तर कसैले आफ्नो वचन राख्न सकेन।

समय बदलियो, समय आफुमात्र बदलिएन यसले धेरै कुरा बदल्यो। समयसंगै धेरै मान्छे बदलिए । मान्छेहरु आफै बदलिएर पनि समयलाई दोष लगाए । अनेक बहानामा धमाधम आफुलाई बदले । अवसर खोजे, अवसरवादी भए । मलाई दुख लाग्छ, मलाई राजनीतिमा बाहिर ल्याउने, कक्षामा हरेक दिन जय नेपाल भन्न लगाउने, संगठन निर्माणमा धेरै ठाउँमा पुगेका सहयात्री साथीहरु काँग्रेसमा किन अटाएनन् वा आफै बाहिरिए । मलाई पनि कांग्रेसीजनप्रति घृणा जरुर लागेको थियो तर बिषम परिस्थितिमा पनि म मा कहिल्यै सैद्धान्तिक विचलन आएन । अन्तत प्रविणता प्रमाणपत्र उत्तिर्ण गरे पछि मेरो उच्च शिक्षा पढ्ने रहर खुम्चियो । म आर्थिक रुपमा स्नातक र स्नाकोत्तर पढ्ने हैसियतको मान्छे थिइन । अन्नत: अरब भूमीलाई कर्मथलो सम्झी लागें अरबतिर।

अरब भूमीमा पनि भेटेसम्मका नेपालीहरुसंग कांग्रेसको कुरा गरेर थाकिन । न त त्यहाँको बसाइ नै फलदायी रह्यो । केही वर्ष बसेर नेपाल फर्के पछि गन्तब्य खोज्ने चटारो भयो। गन्तब्य खोज्दै युएइ, तान्जानिया घुम्दै गर्दा साथै पाकिस्तानको लामो बसाइ हुँदा २०६४ सालको संविधान सभाको चुनाव सम्पन्न भयो। २०७० सालको संविधान सभाको दोश्रो चुनावताका म तनावमा थिएँ, म फकिर जस्तो भएको थिएँ । बरु म कुनै बेला निष्कृय रहें हुँला तर मेरो सैद्धान्तिक विचलन कहिल्यै आएन । देश संघियतामा गए पछिका सबै चुनावहरुमा भलै पार्टीले हारे पनि आफ्नो सकृयता देखाइयो, प्रचारप्रसार गरियो । फेसबुके प्रवक्ता जस्तो भएर जानेको लेखियो ।
मैले काँग्रेसबाट केही लिएको छैन, काँग्रेसले मलाई केही दिएको छैन । तर काँग्रेस समर्थकहरुबाट मैले सहयोग पाएको छु र पाइरहने छु । निश्चित रुपमा काँग्रेस समर्थकहरुबाट पाएको र पाउने सहयोग नै काँग्रेसबाट पाएको सहयोग ठहरिने छ । हार्दिक आभार ब्यक्त गर्दछु सम्पूर्णजनहरुप्रति, जो जसले मलाई हरतरहबाट सहयोग गर्नु भएको छ।

तर अहिलेको कांग्रेस बीपी पथमा हिडेको छैन । बीपी चिन्तनको बलात्कार गरिएको छ, उनको समाजवादको खिल्ली उडाइएको छ । उनको नाम सत्तामा पुग्ने सिंढीको रुपमा मात्र प्रयोग गरिएको छ । कार्यकर्तामा गैरजिम्मेवारीता, गुट, उपगुट, नाता, कृपा र सत्तामोहले कांग्रेसलाई नराम्रोसंग गाँजेको छ । यी सबै कुराको चिरफार गरी पार्टीलाई पूनर्जीवन दिन नसके काँग्रेस इतिहासकै कुनामा थन्कने निश्चित छ । अहिलेको निर्वाचनको परिणाम यस्तै गतिविधिहरुको कारण हो।

माथिदेखि तलसम्मका कार्यकर्ताको छाडा प्रवृत्ति, पटक पटक सत्तामा रहँदा खासै जनमुखी कार्यक्रम ल्याउन नसक्नु, रामशरण महत पटक पटक अर्थमंत्री हुँदा राज्यको कोषलाई आफ्नो बैंक मौजाद सम्झदै बृद्ध बृद्धा भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता बृद्दि गर्न वा उपलब्ध गराउन राज्यले थाम्दैन भन्ने जस्तो काइते कुरा गरि (यही राज्यकोषबाट एमालेले बाँड्दा राज्यले थामेको छ) कंग्रेसलाई अधोगतीतर्फ धकेल्नु, भारतले लगाएको नाकाबन्दीको विरोध गर्न नसक्नु, भारतसंग स्पष्ट धारणा राख्न नसक्नु, राष्ट्रियतामा फितलो नीति, पार्टीभित्रको गुट, उपगुट, जनप्रेमी उम्मेदवारहरुलाई टिकट नदिइ केन्द्रबाट उम्मेदवारी लाद्ने प्रवृति, पञ्चायतका अवशेषहरु राप्रपालाइ बोकेर चितवन, सिन्धुपाल्चोक, मकवानपुर आदि जिल्लाहरुमा काँग्रेसी मतदाताहरुलाई रुख चिन्हमा मतदान गर्नबाट बञ्चित गरिनु, सत्ताको लोभमा स्थानीय चुनावमा चितवनमा काँग्रेस उम्मेदवारको उम्मेदवारी नै अपहरण गरिनु, सधै सत्ताको ध्याउन्न, प्रधानन्यायाधिश काण्ड, आइजीपी काण्ड, भारतमा गएर नेपालको संविधान संशोधनको प्रतिवद्दता गरिनु, बिना एजेण्डा हचुवा तालले चुनावमा होमिनु, चुनावी रणनीतिको स्पष्ट दिशा नहुनु जस्ता कार्यमा चुर्लुम्म भएका नेताहरुका गतिविधिहरुबाट आजित र निराश बनेका आमनागरिकले प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काँग्रेसलाई पत्तासाफ नै पारेका छन् । तर आमनागरिक काँग्रेस सक्ने र देश खाने नेताप्रति रुष्ट भए पनि नेपाली काँग्रेसको सिद्दान्तप्रति विचलित र निराश छैनन् भन्ने कुराको प्रमाण आमनागरिकले नेपाली काँग्रेसलाई समानुपातिकमा दिएको मत हो ।

प्रत्यक्षतर्फ ८० सिट ल्याएको एमालेले समानुपातिकतर्फ काँग्रेसको भन्दा जम्मा एक सिट धेरै वा ४१ सिटमात्र पाएको छ अथवा जम्मा ४५,९०५ मत मात्र धेरै पाएको छ । यो नतिजाको जनादेश केहो भने वामगठबन्धन सत्तामा जाउ र काँग्रेस वैकल्पिक र सक्षम नेतृत्व खोजी गुटहरुको दाहसंस्कार गरी संगठन निर्माणतर्फ लाग भन्ने हो । यसको सन्देश नेपाली काँग्रेस सकिएको छैन, तर आमनागरिक काँग्रेसमा ब्यापक सुधार, सक्षम नेतृत्व र जनपक्षिय भएको हेर्न भने पक्कै चाहन्छ भन्ने हो ।

आमनागरिकले काँग्रेसलाई अब सत्ताको पछाडी नलागी संगठनमा ब्यापक सुधार गरी बलियो बनाउने मौका दिएका छन् । बजारमा हल्ला आए जस्तो वाम गठबन्धनबाट प्रचण्ड फुटाउने कुरा यथार्थमा आयो भने काँग्रेसले इतिहासकै घृणित कुकार्य गर्नेछ र नेतृत्व वर्गले आफ्ना आसे पासे र गासे भन्दा अरु मलामी पनि पाउने छैन । काँग्रेसले वामसरकारको जिम्मेवार प्रतिपक्ष भएर रचनात्मक भूमिका खेल्दै सवल पार्टी निर्माण गरी आगामी दिनमा देशलाई सशक्त पार्टी दिन सकोस्, नयाँ नेतृत्व वर्गलाई अग्रिम शुभकामना ।