काठमाडौंः नेपालका लागि राजदूत रहेका इजरायली बेन्नी ओमरले बीपीको सम्झना गरेका छन् ।

उनले सुन्दरीजलमा रहेको बीपी कोइराला संग्रहालयमा आयोजिक बृक्षारोपण र सन् १९६० अगस्टमा कोइरालाले इजरायल भ्रमण गर्दा खिचेको तस्विर हस्तान्तरण गर्दै बीपीको सम्झना गरेका हुन् ।

कार्यक्रममा बोल्दै राजदूत ओमरले दुई देशको सम्बन्ध नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले परिकल्पना गरेको आधारमा अगाडि बढ्ने समेत बताए ।

कोइरालाकै पहलमा नेपालले दक्षिण एसियामै पहिलोपटक इजरायलाई राष्ट्रको मान्यता दिएको सम्झना गर्दै ओमरले त्यतिबेला नेपालले इजरायललाई दिएको साथ इतिहासमा नमेटिने बताएका थिए ।


यसरी बनेको थियो इजरायल र नेपालको सम्बन्ध

पूर्वी भूमध्य सागरको अन्तिम विन्दुमा रहेको इजरायल पहिलो विश्वयुद्धभन्दा अघि प्यालेस्टाइन अटोनोमन साम्राज्यको एउटा जिल्ला थियो ।

पहिलो विश्वयुद्धमा अटोनोमन साम्राज्य बेलायत र उसका सहयोगीहरुबाट पराजित भएपछि प्यालेस्टाइन बेलायतको नियन्त्रणमा आयो तर समस्या समाधान हुनुको साटो झनै बल्झियो । यो भूगोल अरबीहरुको बासस्थान थियो तर यहुदीहरु पनि यहाँ बस्न चाहन्थे । यहुदीहरुले उक्त स्थानमा बस्ने भनेपछि उनीहरुमाथि अत्याचार गर्न सुरु गरियो । उनीहरुलाई त्यस स्थानबाट अरवीहरुले लखेट्न थाले ।

दोस्रो विश्व युद्धपछि बेलायतले अब प्यालेस्टाइनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले नै के गर्ने भन्ने निर्णयमा पुगोस् भनेर आव्हान गरेपश्चात संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनलाई दुई देशमा विभाजन गर्न सुझाव दियो । एउटा अरब र अर्को यहुदीका लागि।

अरबीहरुले यो योजना स्वीकार गरेनन् तर यहुदी नेताहरुले संयुक्त राष्ट्रसङ्घको यो प्रस्तावलाई स्वीकार गर्दै इजरायल नामक देशको घोषणा गरे ।

इजरायल नामको घोषणासँगै युद्ध सुरु भयो । महिनौँसम्म चलेको युद्धपछि इजरायल र अरबी छिमेकी युद्ध रोक्न सहमत भए । यता इजरायललाई अन्तर्राष्ट्रिय स्तरमा देशको मान्यता मिल्दै गयो । अमेरिकी राष्ट्रपतिले इजरायल देशको मान्यता दिएपश्चात विश्वका अन्य देशहरुले पनि मान्यता दिन थाले । इजारायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिन विश्वका कतिपय राष्ट्रहरु भने हिच्कीचाइरहेका थिए । इजरायलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने  क्रममा दक्षिण एसियाली राष्ट्रहरु पनि तत्काल अघि सरेका थिएनन् त्यहि समयमा नेपालका तत्कालिन प्रधानमन्त्री बीपी कोईरालाले इजरायललाई  स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिए ।

दक्षिण एसियाबाट नेपालले दिएको पहिलो मान्यतासँगै नेपाल र इजारायलबीच दौत्य सम्बन्ध स्थापित हुँदै आएको छ । नेपाल र इजरायलमा दुताबासहरु खोलिएका छन् । अहिले इजरायलले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।