भक्तपुरः मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका एम्बुलेन्स चालक बुद्धकृष्णले बोडेको वर्षाैंदेखिको परम्परालाई निरन्तरता दिन आज आठौं पटक जिब्रो छेडाएका हुन् ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते दिउँसो कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेडेका थिए ।


जिब्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा औषधि लाउनु नपर्ने मान्यता रहेको छ ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपंक्षी र महिलालाई छुन नहुने परम्परा छ ।

गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता पाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २ गते बिहीबार, १६:३९