काठमाडौं: नेपालमा सेयरको मूल्य ओरालो लागिरहँदा सर्वसाधारण खरिदकर्ता बैकहरूको सेयर किन्न आकर्षित देखिएका छन् । साताभर सेयर बिक्रीमा सक्रिय २० कम्पनीमध्ये १६ वाणिज्य बैंक छन् । अन्य कम्पनीमा दुईवटा विद्युत् कम्पनी छन् भने एक-एकवटा बिमा र विकास बैंक लगानीकर्ताको आकर्षणमा परेका छन् । नेपालको सेयर बजारको विश्लेषण गर्दा अन्य वस्तु तथा सेवा उत्पादक कम्पनी सर्वसाधारणको आकर्षणमा परेका छैनन् ।

वाणिज्य बैंकहरूले राष्ट्रबैंकको नीति अनुसार भर्खरै पुँजी वृद्धि गरेकाले भविष्यमा उनीहरूको कारोबार राम्रो मुनाफामा जान सक्छ । अहिले पनि सवारीसाधन तथा नियन्त्रित भए पनि घरजग्गामा लगानीले वाणिज्य बैंकहरू राम्रै नाफामा छन् ।


। गत सता सेयर कारोबारमा वाणिज्य बैकको सेयर बिक्री ४३ दशमलव ३६ प्रतिशत छ । सोही समयमा बिमा कम्पनीको सेयर कारोबार २२ दशमलव २६ छ । विकास बैंकको सेयर बिक्री अंश ५ दशमलव ४९ छ भने जलविद्युत् समूहको अंश ५ प्रतिशत मात्र छ ।

यो साता १ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यही अवधिमा विभिन्न क्षेत्रका एक दर्जन कम्पनीका सेयर सूचीकृत भएका छन् । त्यसमा राधी विद्युत् कम्पनी र आरम्भ माइक्रो फाइनान्सका साधारण सेयर सूचीकृत भएका छन् । मुक्तिनाथ विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट बैंक, बोमी माइक्रो फाइनान्स वित्तीय संस्था, जनता बैंक, नेपाल फाइनान्स, गरिमा विकास बैंंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाका बोनस सेयर सूचीकृत भएका छन् । अर्को नेपाल कम्युनिटी डेभलपमेन्ट बैंको हकप्रद र प्रिमियर इन्स्योरेन्स कम्पनीको थप निष्कासन सूचीकृत भएको नेप्सेले जनाएको छ ।

गत हप्ताको सेयर कारोबारको अवस्थालाई हेर्दा सेयर किन्ने ग्राहकहरू सेयर कारोबारमा अभ्यस्त देखिन्छन् । उनीहरूले वाणिज्य बैंकले आफ्नो पुँजी बढाएका छन्, अब सबै क्षेत्रमा केही न केही विकास हुन्छ नै त्यसले भविष्यमा बैंकहरूको कारोबार बढ्ने कुरामा ढुक्क छन् । अहिले सस्तोमा सेयर किनेपछि भविष्यमा सेयरको मूल्य बढ्छ भन्ने कुरामा उनीहरू ढुक्क देखिन्छन् । अन्य वस्तु उत्पादक कम्पनीको उत्पादन र व्यापारमा अझै पनि अनिश्चितता भएकाले त्यतातिर जोखिम मोल्न चाहेको देखिन्न । यो अवस्थामा ठूला सेयर व्यापारी जसले मूल्य घटेका बेला ठूलो मात्रामा सेयर किनेर राख्ने र मूल्य बढ्दा बजारमा बेच्नेहरू सक्रिय हुन सक्छन् । यसले सयर बजार नै क्रित्रिम रूपमा प्रभावित हुनसक्ने खतरा पनि देखिन्छ ।