काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार रहेका धादिङ्ग साविक जिवनपुर गा.बि.स.–८ हाल धुनिवेसी नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१३ बस्ने ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ असार २२ गतेको फैसलाले १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका–२३ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।

अकौलियाले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी मनोज प्रसाद साहलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबि बैंक लिमिटेडको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले अकौलियालाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।


उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १५:३७