काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार रहेका काठमाडौं महानगरपालिका–३ बस्ने गोरखाको गोरखा नगरपालिका–६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको व्यूरोका प्रवक्ता एवं सूचना अकिारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।

श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी दिपा थपलियालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकहरुको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले श्रेष्ठलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।


उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, २०:३८