काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार रहेका पर्सा वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नारायण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीको जाहेरीले उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार सत्य नारायणलाई विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।


साथै सत्य नारायणले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँका चेकहरु काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।

उनलाई फैसला कार्यान्वयनको बिहीबार जिल्ला अदालत पर्सामा पेश गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १९:३५