काठमाडौंः वाम सरकारले विकासमा छलाङ मार्ने बताइरहँदा आमलगानीकर्ता भने धितोपत्रमा लगानी गर्न त्यस्तो उत्साहित देखिएका छैनन् । अझै उत्पादनमूलक कम्पनीका सेयरतर्फ लगानीकर्ताले विश्वास गर्न थालेको देखिएको छैन । हुन त अहिले ऊर्जा आपूर्तिमा सुधार आएपछि नेपालमा रहेका उत्पादनमूलक कम्पनीमा केही सुधार हुन थालेको छ । उत्पादनमूलक कम्पनी कति धितोपत्र बोर्डमा सूचीकृत नहुने र कति आफ्नो पारिवारिक व्यवस्थापनमा चलिरहेका हुँदा पनि धितोपत्र बजारमा यी कम्पनीको उपस्थिति नै अति न्यून रहेको छ ।

वाम सरकार गठन भएपछि लगातार ओरालो लागेको धितोपत्र बजार केही महिनाअघिबाट क्रमशः सुधार हुँदै गयो ।


। पछिल्ला केही हप्तायता सेयर बजारको उतार–चढावको दायरा फराकिलो छैन । सेयर कारोबार बढ्ने वा घट्ने क्रममा धेरै ठूलो अन्तर भएको देखिएको छैन । यो अवस्थालाई हेर्दा सेयर बजारमा आइरहने हल्लाबाट प्रभावित भएर लगानीकर्ता हतास हुने वा बढी उत्साहित हुने अवस्था अब कम हुन थालेको स्पष्ट देखिन थालेको छ । अर्थमन्त्रीले सेयरमा लगानी गर्दा हल्लाको भरमा चल्नु हुँदैन, सोचेर, विचार गरेर, लगानी गर्ने कम्पनीको आर्थिक अवस्था कस्तो छ र त्यसको भविष्य के छ भनेर विचार गरी लगानी गर्नुपर्छ भनेका छन् ।

यो साताको पहिलो दिन आइतबार सुरुका ३ घण्टा कारोबार बढ्न गएको थियो भने अन्त्यमा बन्द हुँदा भने घटेर गयो । सुरुमा १ हजार ३ सय ३९ दशमलव ९५ विन्दुमा पुगेको कारोबार छिटै १ हजार ३ सय ५६ भन्दा माथिल्लो विन्दुमा पुग्यो । सेयर कारोबार बन्द हुँदा भने शून्य दशमलव ४६ अंकले घटेर १ हजार ३ सय ३९ दशमलव १९ अंकमा पुग्यो ।

यसरी थोरै मात्र उतार–चढाव भएको सेयर कारोबारमा धेरै समयसम्म उच्च आकर्षणमा रहेको बैंकिङ क्षेत्र लगानीकर्ताको आकर्षणमा परेको छैन । होटल र उत्पादन तथा प्रशोधन उद्योगका सेयरमा पनि लगानीकर्ताको आकर्षण देखिएको छैन । आइतबार जलविद्युत् विकास बैंक, लघुवित्त र बिमाको कारोबार बढ्यो । यसलाई हेर्दा लगानीकर्ताले जलविद्युत्, बिमा, लघुवित्तजस्ता क्षेत्रतर्फ पनि आँखा डुलाएको देखिएको छ ।

गत हप्ताको सेयर कारोबारलाई हेर्दा अन्तिम दिन अघिल्लो साताको भन्दा ४५ दशमलव ९६ प्रतिशतले घटेको छ । सो साता १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तो हुनुको कारकका रूपमा धितोपत्र बोर्डले नेप्सेलाई सेयर खरिदकर्ताको पूर्ण विवरण राख्न निर्देशन दिनुलाई मानिएको छ । नेप्सेले सेयर खरिदकर्ताले आफूनो परिचयसहितको विवरण नदिंदासम्म सेयर खाता नै रोक्का गरेको छ । यसबाट सेयर कारेबारमा असर पर्न गएको देखिएको छ ।
गत साताभर १ सय ७६ कम्पनीका २३ लाख २९ हजार ४ सय ४० सेयर मात्र खरिद–बिक्री भएका छन् ।