काठमाडौंः इलाका प्रहरी कार्यालय बनेपाले बैंकिङ कसुरमा फरार रहेका एक महिलालाई आज दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्ने ५६ वर्षीया जयन्ती केसी हुन् । उनलाई उच्च अदालत पाटनले २०७१ वैशाख २९ गते ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय सुनाएको थियो । केसी भने फरार थिइन् ।

इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक योगेन्द्रप्रसाद तिमिल्सिना नेतृत्वमा खटिएको प्रहरी टोलीले बनेपा नगरपालिका ६ मा लुकेर बसेको अवस्थामा केसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका केसीलाई प्रहरीले जिल्ला अदालत काभ्रेमा बुझाएको थियो । अदालतको आदेशले प्रतिवादी केसीलाई थुनामा राख्न जिल्ला कारागार धुलिखेल पठाएको छ ।


उच्च अदालतले बैकिङ कसुर मुद्धामा ११ करोड ८२ लाख ९२ हजार ११६ रुपियाँ र तीन बर्षको कैद तोकेको थियो ।

उनलाई बिहीबार नै जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद भुत्तानीका लागि जिल्ला कारागार धुलिखेल चलान गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ अशोज ९, शुक्रबार, ०७:१८