काठमाडौंः परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बैदेशिक रोजगारमा गएका ३ सय ३५ जना नेपाली जेलमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले सबैभन्दा बढी साउदी अरेवियामा २ सय २९ जना जेलमा रहेको बताए भने दुबईमा ६३, बैंककमा ३९, बहराइनमा ९, चीनमा ३ जना गरि कुल ३ सय ३५ जना विदेसी जेलमा रहेको जानकारी दिएका हुन् । यसैगरी मन्त्री ज्ञवालीले संसदमा दिएको जानकारी अनुसार २० जना कोमामा रहेको जसमध्ये कतारमा ११ जना, दुबईमा २ जना, साउदीमा ५ जना छन् ।


२०६८ सालदेखि छिमेकी मुलुक भारतको विमानस्थल प्रयोग गरी बैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्ने प्रयास भइरहेको मन्त्री ज्ञवालीले बताउँदै भिजिट भिसामा जाने नेपालीहरु ठगीमा पर्ने गरेको बताएका छन्।

यसैबीच उनले सरकार सबै मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । ‘छिमेकीसँग बढेदै गएको सद्भावले त्रिदेशीय साझेदारीको वातावरण बनाउँदै गएको छ अब हामी समन्वयात्मक ढंगले अगाडि बढ्छौं,’ उनले भने ।

मन्त्री ज्ञवालीले राष्ट्रिय हितका विषयमा सरकारले अडान लिने बताए । युरेपेली युनियनले निर्वाचन पर्यवेक्षणको नाममा नेपालमाथि गरेको टिप्पणीप्रति सरकारले कडा प्रतिवाद गरेको उनले स्मरण गराए ।

मन्त्री ज्ञवालीले नेपालको एक इञ्च पनि भूमिको रक्षा सरकारको दायित्व हो भन्नेमा मन्त्रालय प्रस्ट रहेको बताए ।