रौतहट: रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन्। गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्।

कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन्। पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन्।

जेठानी सुमित्रा देवीको छोरा विजय राम गत एक बर्षदेखि विरामी रहेको उनको उपचार गराउँदा पनि निको नहुँदा धामी झाक्रीले ‘तिम्रो देवरानी गीताले बोक्सी लगाएको कारण छोरा निको हुन नसकेको हो’ भन्ने बताएपछि हिजो साँझ जेठानीसंगैं जेठाजु चुन्नी राम, उनका छोराहरु संजय, रंजय लगायतका आफन्तहरु लछारपछार गरेर निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन्।


गीतालाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गर्ने पक्ष फरार भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबीन्द्र केसीले घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।

एसपी केसीले भने– पीडकहरुको खोजी कार्य जारी रहेको छ, अनुसन्धानपछि वास्तविक दोषी ठहर भएमा कानून बमोजिम कारवाही हुन्छ । नागरिक दैेनिकमा समाचार प्रकाशित छ ।