काठमाडौंः ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बीबीसीका अनुसार उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको हो ।

अब राष्ट्रपति बोल्सोनारुको सम्पर्कमा आएका मानिसहरूको पनि परीक्षण गरिनेछ ।

राष्ट्रपति बोल्सोनारुले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् । उनले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका थिएनन् ।


कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।


प्रकाशित मितिः बुधबार, असार २४, २०७७, १२:१२