डडेलधुराः दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा. गोविन्द के.सी. अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए ।

त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी, कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए ।

भेट्न आउनेहरूसँग कुरा गरिरहँदा डा. के.सी. बेलाबेला भक्कानिन्छन् । यो देखेर आउनेहरूको मन थामिँदैन । उनीहरुका आँखा रसाइहाल्छन् । शुक्रबार पनि त्यस्तै भयो, ऐर र बलायरसँगको भेटमा । ‘म आफू र आफन्तका लागि या कुनै माफियाको फाइदाका लागि अनशन बसेको हुँदै होइन,’ डा. के.सी. भन्दै थिए, ‘बाजुरादेखि ओखलढुंगासम्मका गरिब जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भनेर अनशन बसेको हुँ ।


।’

डडेलधुरा अस्पताल नजिकैको एउटा चिसो कोठामा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. के.सी.लाई भेट्न आउने जोसुकैलाई पनि उनी भन्न छुटाउँदैनन्, ‘संविधानले दिएको अधिकार माग्दा सरकारले अपराधी जस्तो व्यवहार गर्‍यो । राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी भएन ।’ जुन अधिकार जनताका नाममा नेताले सहजै उपभोग गरिरहेका छन्, त्यो अधिकार सर्वसाधारणले नपाएको डा. के.सी.को आरोप छ । यो समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०७:३७