भक्तपुरः स्काउटिंगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न व्यक्तिगत रुपमा आफ्नो ज्यान जोखिममा पारि साहसिक पूर्ण वीरताका साथ शौर्यपूर्ण कार्य गर्न सफल स्काउट तथा नेपाल स्काउटका १५ बर्षसम्म निरन्तर सेवा गर्ने भक्तपुरका चार युवालाई नेपाल स्काउटले यस बर्षको पराक्रमपट्टी पदक र दीर्घसेवा मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ ।

नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा १५ बर्षसम्म निरन्तर सेवा गरिरहने स्काउटरहरु तथा सामाजिक अभियान्ताहरुलाई प्रदान गर्ने पराक्रमपट्टी पदक मानपदवीबाट भक्तपुरमा कोरोना भाइरस विरुद्ध अग्रपंत्तिमा रहेर निरन्तर खटिरहेका भक्तपुरका स्काउटरहरु अरुण सैंजु, राजेश गाईजु, न्हुज किजु र सामाजिक अभियान्ता तथा स्वास्थ्यकर्मी पुनम कर्माचार्यलाई सम्मान गर्ने निर्णय गरेको छ ।


त्यस्तै, दीर्घसेवा मानपदवीबाट मोरङका राजाराम घिमिरे र दिवश राजवंशीलाई सम्मान गर्ने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले विज्ञप्ती मार्फत जनाएको हो ।

नेपाल स्काउटले गांईजु र सैंजुलाई पराक्रमपट्टी प्रथमदर्जा र नगद रु एक लाख पचास हजारबाट सम्मान गर्ने भएको छ । त्यस्तै, किजु र कर्माचार्यलाई पराक्रमपट्टी दोस्रो दर्जा र नगद रु ७५ हजार सहित सम्मान गर्ने निर्णय गरेको छ । मोरङका दूई युवा घिमिरे र राजवंशीलाई भने १५ बर्ष निरन्तर स्काउट मार्फत सेवा गरे बापत दिर्घ सेवापदकवाट सम्मान गर्ने भएको छ ।

सम्मानित हुनेहरुलाई एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्ने छन् । सम्मानित हुने भक्तपुरका युवाहरु मध्य गांईजु र सैंजले कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापनमा संलग्न थिए ।

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनमा कोहि अग्रसर नभएपछि भक्तपुरबाट धुलिखेल अस्पतालसम्म पुगेर शव ल्याएर दुई युवाले भक्तपुरका सुरक्षाकर्मीको सहयोगमा पशुपति आर्यघाटको विद्युतिय शवदाह गृहमा मृतक महिलाको शव व्यवस्थापन गरेका थिए ।

भक्तपुरका चार जना युवाहरु लकडाउनको सुरुवाती दिन देखिनै भक्तपुर अस्पतालको प्रांगणमा बसेर कोरोना भाइसरको नमुना परीक्षणका लागि निकालिएको स्वाबको नमुनालाई टेकु अस्पतालसम्म पुर्‍याउने, कोरोना संक्रमणको शंका लागेका बिरामीलाई उपचारको लागि घरबाट अस्पतालसम्म पुर्‍याउने, ज्वरो क्लिनिक मार्फत अस्पतालमा आएका बिरामीको शरिरको तापक्रम नाप्ने लगायतका कोरोना भाइरस विरुद्ध निरन्तर खटिरहेका थिए ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, २१:०५