भक्तपुरः भक्तपुरको कमलबिनायकमा १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

बुधबार दिउँसो ३ बजे सर्लाही स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० कमलबिनायकमा डेरा कोठा लिई अध्ययनरत १९ वर्षीया महिला आफु बस्ने डेरा कोठामा एक्लै भएको मौका पारी स्थानीय सामान्य चिनजान भएका ३१ वर्षीय बिकास तजले एक्कासी कोठा भित्र प्रवेश गरी कोठाको चुकुल लगाई डर धाक धम्की दिई बोल्न कराउन नदिई जवरजस्ती करणी गरी  फरार भएका थिए ।

ती महिलाले शुक्रबार महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा तजलेलाई शुक्रबार नै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


पक्राउ परेका उनलाई आज जिल्ला अदालत भक्तपुर पेश गरी म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ १८ गते आइतबार, १५:३४