भक्तपुरः चाँगुनारायण नगरपालिका–५ छाँयाबस्तीमा बाटो निर्माण गर्ने क्रममा माथिबाट पहिरो झरेर एक मजदूरको मृत्यु भएको छ भने अन्य दुई मजदूर घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जन रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज दिउँसो छाँयाबस्ती स्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेवसम्म जाने बाटो निर्माण गर्ने क्रममा अचानक माथिबाट पहिरो खस्न गई त्यही बाटोमा काम गर्ने ३ जना मजदुरहरु घाईते भएका र घाईतेलाई उद्धार गरी उपचारको लागी भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौं लगिएको थियो ।


। योञ्जनको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

अन्य दुई जनामा सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छाँयाबस्ती बस्ने ४४ वर्षीय प्रेम लामा र रामेछापको सुनापाती गाँउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छाँयाबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भई अर्थोपेटिक अस्पताल काठमाडौं लगिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

लामालाई अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौं लगिएकोमा उपचारपछि डिस्चार्ज गरिएको छ भने घिसिङलाई सोही अस्पतालबाट थप उपचारका लागी टिचिङ अस्पताल रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, २१:२१