भक्तपुरः चाँगुनारायण नगरपालिका–२ वर्खेपाटीमा पानी तान्ने मेसिन चोर्न लागेका चोरलाई पक्राउ गरी कुटपिट गर्दा उनको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङको कुटपिटका कारण मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

चैत २१ गते राति पानी तान्ने मेसिन चोर्न लागेका चोरलाई पक्राउ गरी कुटपिट भएका उनलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याउँदा उनले मादक पदार्थ सेवन गरेको जस्तो देखिने तर कुटपिटका कारण असक्त अवस्थामा पुगी सकेका समेत प्रहरीले जनाएको छ ।

विनोद लाखाको च्याउ फममा पानी लगाउन बनाएको सानो पोखरीमा राखेको मेसिन चोरी गर्दै गर्दा विनोद लाखा समेत पाँच जनाले उनीमाथी कुटपिट गरेको खुल्न आएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।


। उनको मृत्यु २२ गते अन्दाजी दिउँसो साढे २ बजेको समयमा भएको हो । सम्बन्धित चिकित्सकसँग मृतकको सम्बन्धमा बुझ्दा उनको दिमागमा रक्त श्राप भई मृत्यु भएको भन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार कुटपिटमा संलग्नहरु भक्तपुरको चाँगुनारायण नगरपालिका–२ बस्ने ५० वर्षीय टेक बहादुर के.सी., ३२ वर्षीय नविन कोजु , भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय बिनोद लाखा ,दोलखाको भिमेश्‍वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण नगरपालिका–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरीको बर्जु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ बस्ने ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २३ गते सोमबार, ०८:२९