भक्तपुरः सुर्यबिनायक नगरपालिका–९ पलासे बस्ने ६५ वर्षीया ललित कुमारी कार्कीलाई ठक्कर दिई फरार रहेका प्रदेश २–०१–००१ च ०१८० नम्बरको बोलेरे गाडी चालक सिराहा गोलबजार बस्ने २४ वर्षीय अर्जुन विकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान बनेपाबाट काठमाडौं आइरहेको उक्त गाडीले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकी कार्कीको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको थियो ।

ठक्कर दिई गाडी र चालक फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय गोलबजार, सिराहासँगको समन्वयमा उक्त घटनामा संलग्न चालक अर्जुनलाई गाडी सहित पक्राउ गरेको हो ।


चालक अर्जुन माथि सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १९:००