भक्तपुरः महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले यही सोमबार रातिको समयमा चोरीका ४ थान मोटरसाइकल सहित ३ जनालाई मध्यपुर ठिमी नगरपालिका–८ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप ठोसे घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखा भिमेश्वर नगरपालिका–४ घर भई मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ घर भई काठमाडौं मुलपानी बस्ने २९ वर्षीय मनोज लामा रहेका छन् ।

उनीहरुले विभिन्न समयमा चोरी गरेका लु ६३ प ७०७४ नम्बरको २०० सिसिको एनएस मोटरसाइकल (नंम्बर परिवर्तित गरी प्रदेश नम्बर ३–०२–०१७ प ६१६७ राखेको) प्रदेश नम्बर ३–०२–००३ प ३८३५ नम्बरको २०० सिसिको एनएस मोटरसाइकल, प्रदेश नम्बर ३–०३–०१०प १५६७ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, प्रदेश नम्बर ३–०२–०१८ प ४७४१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।


यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १३:३६