भक्तपुरः भक्तपुर नगरपालिकाले ब्रम्हायनीमा कोरोना भाइरस संक्रमितलाई राख्न आइसोलेसन केन्द्र तयार पारिएको छ ।

नगरपालिका–९ ब्रम्हायनीस्थित सामुदायीक बहुउद्देश्यीय भवनमा ७५ बेडको आइसोलेसन तयार पारिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्थानीय तहलाई आइसोलसन केन्द्र व्यवस्थान गर्ने जिम्मा दिएपछि नगरपालिकाले आफ्नै खर्चमा केन्द्र तयार पारिएको हो ।

आइसोलेसनमा १० जना स्वास्थ्यकर्मी खटिनेछन् । यस्तै, ६ वेड अक्सिजन सहित आइसोलेसन केन्द्र तयार गरेको नगरपालिकाले जनाएको छ ।

केन्द्रमा कोरोना भाइरस संक्रमण पुष्टि भएका र सामान्य लक्षण देखिएका बिरामीलाई १४ दिन सम्म राखिने नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।


उनका अनुसार भाइरस समुदायमा फैलिन नदिन होम आइसोलेसनमा बस्ने वातावरण नभएका बिरामीलाई भोलि शनिबारबाट केन्द्रमा राखिने छ ।

केन्द्रमा जेष्ठ नागरिक, महिला र पुरुषलाई छुटाछुटै तल्लामा राख्ने व्यवस्था मिलाएको छ । केन्द्रमा भाइरस संक्रमित बिरामीलाई दैनिक ४ पटकसम्म खाना खुवाउने व्यवस्था गरेको छ ।

आइसोलेसन केन्द्रको आज प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, वीरदल गणका प्रमुख कर्णेल शिव पौडेल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायतले निरिक्षण गरि जानकारी लिएका थिए ।






प्रकाशित मितिः शुक्रबार, असोज ९, २०७७, १७:१५