भक्तपुरः मध्यपुर थिमि नगरपालिका–६ पाटीविहारबाट विभिन्न कागजात र नगद सहित एक लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मध्यपुर थिमि नगरपालिका–७ बस्ने सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका–१२ घर भएका २८ वर्षीय आषिश गिरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

नगरपालिका चोकबाट नयाँठिमीतर्फ जाँदै गरेको बा १५ च ४६८४ नम्बरको कारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गिरीको साथबाट विभिन्न कागजात फेला पारी उनलाई पक्राउ गरेको परिसरका सुचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।


उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी ४ थान, २ थान सवारी चालक अनुमतिपत्र, सवारी चालक अनुमतिपत्रको कर तिरेको १ थान रसिद, सवारी चालक विवरणको ५ थान कागज, बा १५ च ४६८४ नम्बरको गाडीको विलबुक, विभिन्न बैंकको २५ लाख रुपैयाँ बराबरको ४ थान चेक, ३ थान मोबाइल र नगद ४१ हजार ५ सय रुपैयाँ बरामद भएको उनले बताए ।

उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २५ गते बिहीबार, १०:५१