भक्तपुरः मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा बुधबार मानव कङ्काल भेटिएको छ ।

राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको हो ।

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा बुधबार मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रहरीका अनुसार मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो भन्ने पहिचान हुन सकेको छैन् ।


घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान सुरु गरेको छ ।

थप अनुसन्धानका लागि कङ्काल बुधबार साँझ साढे ६ बजे शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०८:२५