भक्तपुरः विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण ०७६ साल चैत्र ११ गतेका दिनबाट बन्द गरीएको लिटिल वर्ल्ड इङ्गलिश स्कूलमा भौतिक रुपमा कक्षा सञ्चालन सुरु गरिएको छ ।

बन्दाबन्दीका बाबजुद विद्यार्थीहरुको अध्ययन कार्यलाई निन्तरता दिन स्कूलले नर्सरीदेखि कक्षा १० सम्मका ४ सय भन्दा बढि विद्यार्थीहरुको लागि जुम, भाइबर र मेसेन्जर मार्फत असार १ गतेदेखि अनलाइन कक्षा निरन्तर रुपमा संचालन गर्दै आइरहेको स्कूलका प्रधानाध्यापक उत्तर कुमार चवेगूले जानकारी दिए ।

कोभिड–१९ को जोखिमलाई मध्येनजर गरी स्वास्थ्यका मापदण्ड अपनाई भौतिक दुरी कायम गरी विद्यालय संचालन गर्नको लागि नेपाल सरकारद्वारा जारी गरिएको विद्यालय संचालन कार्यढाँचा २०७७ लाई आधार मानेर सोही अनुरुपका मापदण्डलाई पुरा गर्नेगरी विद्यालय संचालनको लागी भक्तपुर नगरपालिका अन्र्तगतको नगर शिक्षा समितिको मंसिर २३ गते बसेको बैठकले नगर क्षेत्रका सबै विद्यालयहरुका कक्षा ८, ९ र १० का कक्षाहरु संचालनको लागि पत्रचार गरको थियो ।


सोही अनुसार विद्यालयले शिक्षक तथा कर्मचारीहरु, अभिभाबकवर्ग तथा विद्यालय ब्यवस्थापन समितिको बैठकहरु संचालन गरी स्वास्थ्य सुरक्षाको सुनिश्चिता गरी कोभिड–१९ सम्बन्धि अभिमुखिकरण कक्षा संचालन गरी आचारसंहिता समेत लागू गरी विद्यालय संचालन कार्ययोजना अनुरुप कक्षाहरु संचालन गरिरहेको कुरा विद्यालयका सहायक प्रधानाध्यापक भूपाल श्रेष्ठले जानकारी दिए ।

क्रमिक रुपमा अन्य कक्षाका विद्यार्थीहरुलाई पनि आलोपालो रुपमा विद्यालयमै कक्षाहरु संचालन गर्दै लैजाने योजना अनरुप विद्यालयले तयार गरेको आचारसंहिता पालना गर्नेगरी पौष १२ गतेबाट कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुलाई पनि कक्षा संचालन गरिने कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश थापाले बताए ।

विद्यालय ब्यवस्थापन समितिले तयार गरेको आचारसंहिता अनुसार विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धि केही समस्या पैदा भएमा वा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग सरसल्लाह गरी घरमै बसी वा स्वास्थ्य संस्थामा गई उपचार गर्नुपर्नेछ । यस्तै, विद्यालयमा प्रबेश गर्दा तथा विद्यालयको गाडीमा चढ्दा प्रत्येक शिक्षक, कर्मचारी तथा विद्यार्थीले अनिवार्य रुपमा मास्क तथा फेसशिल्डको प्रयोग गरेको हुनुपर्नेछ ।

आचारसंहिता अनुसार प्रत्येक विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु विद्यालयमा प्रबेश गर्दा ज्वरो मापन गरेको हुनुपर्नेछ भने विद्यार्थीले आफ्नो साथमा खाजा, पिउने पानीका साथै स्यानीटाइजर तथा टिस्यूपेपर लिएर आउनुपर्नेछ । यसैगरी, कक्षा कोठामा प्रवेश गर्दा भौतिक दुरी (कम्तीमा १) मिटर कायम गरी लाइनमा बसेर कक्षामा प्रवेश गर्नुपर्नेछ, शौचालयको प्रयोग गर्दा भौतिक दुरी कायम हुने गरी शौचालयको प्रबेशद्वारमा रहेको गोलाकार संकेतमा बसेर पालैपालो शौचालय भित्र प्रवेश गरी प्रयोग गर्नुपर्नेछ ।

आचारसंहिता अनुसार नै विद्यालयले तोकेको स्थानमा बसेर दिउँसोको खाजा खानुपर्नेछ भने विद्यार्थीहरुले आपसमा खाजा साटासाट गर्न पाउनेछैनन् । यस्तै, समय–समयमा कक्षा ब्रेक भएको समयमा साबुन पानिले हात धुनुपर्नेछ । यसैगरी, विद्यालय परीसर भित्र वा गाडीमा बस्दा खोकी लागेमा वा हाँछ्यू आएमा कुहिनाले ढाकेर वा रुमाल वा टिस्यू पेपर प्रयोग गर्नुपर्दछ र कोभिड–१९ को कारण वा संक्रमितसँगको सामिप्यताका कारण आइसोलेशन वा क्वारेन्टीनमा बसेको विद्यार्थी, शिक्षक वा कर्मचारीहरुले विद्यालय आउनुअघि अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको प्रतिवेदन सहित विद्यालयको पूर्व स्वीकृती लिनुपर्नेछ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १९:३६