भक्तपुरः मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनहरा सडक खण्डमा लोकन्थलीबाट कोटेश्वर जाने लेनमा सवारीसाधनले एक पैदलयात्रुलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ ।

बुधबार राति ११ बजेर ५० मिनेटको समयमा ती अधबैसे पुरुष लडीरहेको सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको प्रहरीको टोलीले तत्कालै पुगी घाइतेलाई मध्यपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भएको जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

दुर्घटना गराउने सवारी साधनको सम्बन्धमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोलीले तत्कालै खोजतलास तथा अनुसन्धान गर्दा हालसम्म खुल्न नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


मृतकको पहिचान खुल्न सकेको छैन् । कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका करिब ५० वर्षका ती व्यक्तिको शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, ११:४५