भक्तपुरः सुर्यबिनायक नगरपालिका–१ विरुवामा तास खेलिरहेको अवस्थामा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विरुवास्थित बिष्णुप्रसाद घिमिरेको एक तल्ले पक्की घरमा सोही ठाउँ बस्ने श्याम थापाले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्यबिनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्र कुमार थापा, ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङ खेटेयाङ गाउँपालिका–१ घर भई हाल सिरुटार बस्ने ४० वर्षीय नगेन्द्र राई रहेको वृत्तका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।


विशेष सुचनाको आधारमा वृत्तबाट खटिएको प्रहरीले उनीहरुबाट नगद १ लाख ९ हजार ३ सय रुपैयाँ र केही तास बरामद गरिएको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १३:२५