भक्तपुुरः सुर्यबिनायक नगरपालिका–८ सिपाडोल मुलबाटो स्थित कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एउटा युवकको हत्या भएको छ ।

सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षीय ईश्‍वर राईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनको हत्या गरेको अभियोगमा गाई फार्म संचालक गोकुलका २० बर्षीय छोरा आशिष खुलाललाई प्रहरीले नियन्त्रणमा लिएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक छानविनमा ईश्वर राईले नै बिहीबार बिहान ९ बजे आषिश खुलाललाई भेट्न फोन गरेका थिए ।


। ईश्वर दिउँसो साथीहरु महोत्तरीको घर भई मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बल सहित आशिषलाई भेट्न गाई फार्म पुगेका थिए । आशिषलाई भेटी गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना ब्यक्तिहरु बसी कुराकानीको क्रममा बादबिवाद भई झै–झगडा हुँदा आशिषले कोठामा भएको खुकुरीले ईश्‍वरलाई प्रहार गर्न थाले पछि युनिस र सुनिल झ्यालबाट भाग्न सफल भएको र ईश्‍वरको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

घटना पश्चात तत्कालै प्रहरी पुगि अभियुक्त आशिषलाई पक्राउ गरि छानविन गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिएका छन । घटना स्थलमा रगत लागेको खुकुरी फेला परेको थियो ।

यस घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १०:१७