भक्तपुरः सुर्यबिनायक नगरपालिका–५ सृजनानगरस्थित शिवलाल कस्पालको ४ तले पक्की घरमा आइतबार साँझ सिलिण्डर पड्केर आगलागी भएको छ । आगोलागीबाट ६ जना घाइते भएका छन् ।

कस्पालको ४ तले पक्की घरको पहिलो तलामा संचालन रहेको भिमेश्वर मःमः एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आगलागीबाट होटल संचालक टिकाराम बस्नेत र ग्राहकहरु समेत ६ जना घाईते भएको हुँदा उनीहरु ६ जनालाई नै उपचारार्थ डा. ईवामुरा मेमोरियल अस्पताल सल्लाघारी र मध्यपुर अस्पताल ठिमी पठाईएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।


होटल संचालक दोलखाको सैलुङ गाउँपालिका–६ घर भई हाल सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टिकाराम बस्नेत, संचालकको आफन्तहरु हाल काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की, ३९ वर्षीया गीता कार्कीको डा. ईवामुरामा पठाइएको भएपनि थप उपचारका लागि उनीहरुलाई किर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

ग्राहकहरु झापाको विश्वशान्ति गाउँपालिका–२ घर भई हाल सल्लाघारी भक्तपुर बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुरको सुर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा मध्यपुर अस्पतालमा पठाइएको भएपनि थप उपचारका लागि उनीहरुलाई पनि किर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

आगोलागीबाट २ वटा फ्रिज, १ थान ढोका र १ थान झ्याल जलेको प्रहरीले जनाएको छ ।

दमकल सहित प्रहरी टोली र स्थानीयको सहयोगमा झण्डै २० मिनेटपछि आगलागी नियन्त्रणमा लिएको थियो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, ११:१५