भक्तपुरः भक्तपुरबाट चितुवाको छाला र चोरीको मोटरसाइकल सहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप सुनापाति गाउँपालिका–५ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, २१ वर्षीय पासाङ तामाङ, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–९ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका–८ दार्जलिङ हाईट बस्ने २२ वर्षीय संजिब सिंजाली मगर, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका–८ दार्जलिङ हाईट बस्ने २४ वर्षीय दिपेश तामाङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–५ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका–८ दार्जलिङ हाईट बस्ने २३ वर्षीय मिलन मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


मंगलबार अन्दाजी ४ बजे चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित सुरेश कार्कीको घरमा डेरा कोठा गरी बस्ने मानिसहरु जंगली जनावरको छाला लगायतका चिजबस्तुहरु अबैध रुपमा राखी खरिद बिक्री तथा ओसार पसार गर्ने गरेको छन् भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको संयुक्त अनुसन्धान अधिकृतका टोली खटी गई उनीहरुको कोठा खानतलासी गर्दा कालोमा खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला थान १ सहित ४ जनालाई नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

पक्राउ परेका चार जनामाथि प्रारम्भिक सोधपुछ तथा थप अनुसन्धान गर्दा उनीहरुले खुलाए अनुसार उक्त चितुवाको छाला ओसार पसार तथा बेचबिखनमा संलग्न भक्तपुर सुर्यबिनायक नगरपालिका–८ दार्जलिङ हाईटबाट थप ३ जना समेत गरी ७ जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

उनीहरुलाई थप अनुसन्धानको लागी जिल्ला बन कार्यालय भक्तपुर पठाईने प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको बा ९० प ६५१० नं. २२० सीसी को पल्सर मोटरसाइकल फेला परेको र उक्त मोटरसाइकल भक्तपुर नगरपालिका–९ का प्रजु सुवालको चोरी गरी लगेको भन्ने खुल्न आएको साथै उनीहरुको साथमा तथा डेरा कोठामा शंकास्पद रुपमा राखिएको ४ थान बिभिन्न नम्बरको मोटरसाइकलहरुको नम्बर प्लेटहरु, बिभिन्न ब्राण्डको बिभिन्न नम्बरका मोबाईल फोनका सेटहरु थान ९, बा ९० प ६५१० नं. को सवारी दर्ता किताब थान १, सवारी चालक अनुमति पत्रहरु थान २ समेत बरामद गरी थप अनुसन्धान कार्य भईरहेको छ ।


प्रकाशित मितिः बुधबार, साउन २८, २०७७, १३:२२