भक्तपुरः मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित आज दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ शितली गाउँपालिका–३, झार्लाङदी घर भई हाल काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय धुर्व बहादुर मगर र काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भिम बहादुर मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भिम बहादुर सशस्त्र प्रहरीमा कार्यरत रहेको समेत बुझिएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरी टोलीले सेतो बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक लिएर हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


उनीहरुको साथबाट ग्लोबल आईएमई बैंकको चेक बुक २ थान, नागरिकता प्रमाण पत्र १ थान, 00-02-04-EJP लेखिएको हरियो निलो झोला भित्र HP कम्पनीको 8GB को पेन ड्राइभ थान १, ग्लोबल आई.एम.ई. को भौचर ८ थान, कृर्षि विकास बैंकको भौचर ४ थान, राजश्व तिरेको विल ३ थान, मोवाइल ४ थान, एभरेष्ट बैंक लिमिटेडको नगद जम्मा गरेको भौचर, भिम बहादुर थापाको सवारी चालक अनुमति पत्र १ थान, व्यक्तिगत नं. ०४८९१२ भएको सशस्त्र प्रहरी बलको परिचय पत्र १ थान, राष्ट्रिय बाणिज्य बैंकको कार्ड १ थान र सिदार्थ बैंकको एटीएम कार्ड १ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

सालक र पक्राउ परेका दुवैलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला बन कार्यालय भक्तपुर पठाईने उनले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १६:२९