काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परिणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाए ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने, ‘हामी यो उपनिर्वाचनको मतपरिणामबाट खुशी छौं । हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं । हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं । तर, म यो निर्वाचन परिणामबाट खुशी छु ।


।’ उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए ।

उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेद्वारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको स्पष्ट पारे । उनले भने, ‘हामीले पूर्व, पश्चिम नभनिकन एकताबद्ध भएर मतदान गरेका हौं । म स्वयम निर्वाचनको कमाण्डर थिएँ । सिँगो नेकपा एकतावद्ध थियो । त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए । त्यही भएर जित निकाल्न सकिएन् ।’

उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दापनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भने, ‘यो सरकारले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमाको विषयमा पनि कडा निन्दा गरेको छ । सरकारले वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट नेपालको भूमी फिर्ता गर्ने अडान लिएको छ । प्रधानमन्त्रीले एक ईन्चपनि नेपालको भूमि मिच्न दिईँदैन् भन्नुभएको छ ।’

सरकारले राष्ट्रियतालाई सुदृढ र मुलुकलाई समृद्ध बनाउने काम गरेको पनि उनले स्पष्ट पारे ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १६:३३