भक्तपुर: भक्तपुर नगरपालिका–४ गहिटिमा दुई जनाबीच आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ ।

हत्या हुनेमा ठेगाना नखुलेको अन्दाजी ४५ वर्षीय जडिबुटि उपनामले चिनिने कृष्ण तामाङ रहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सिन्धुलीको तिनपाटन गाउँपालिका घर भई हाल सोही गहिटी क्षेत्रमा बसी ज्याला मजदुरी काम गर्ने ३० वर्षीय ईन्द्र बहादुर तामाङले आपसी विवाद हुँदा कृष्णलाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुर परिसरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।


आज बिहान गहिटी स्थित सार्वजनिक पाटीमा हत्या गरि छाडिएको अवस्थामा उनको शव भेटिएको डिएसपी गिरीले बताए ।

प्रहरीका अनुसार मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको देखिएको छ ।

हत्याको बास्तविकता बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १७:१२