भक्तपुरः सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा आफ्नै डेरामा सुत्केरी सेक्न झ्याल–ढोका थुनेर कोइला बालेर बसेका तीनमध्ये एक जनाको निसास्सिएर मृत्यु भएको छ भने अन्य दुई जना बेहोस अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा काभ्रेको तिमाल गाउँपालिका–३ की २२ वर्षीया सुनिता तामाङ छिन् । उनीसँगै कोठामा सुतेका आमा र बहिनी अचेत अवस्थामा फेला परेका छन् ।

आमा ४० वर्षीया शान्तिमाया ब्लोन तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आइतबार राति घरको झ्याल–ढोकाको चुकुल फोडेर उनीहरुलाई निकालिएको थियो ।


अनुसन्धानको क्रममा घटना स्थलको प्रकृति हेर्दा अनिता सोही दिन सुत्केरी भएकी थिइन् । सुत्केरी सेक्न कोठामा कोइला मकल बालिएको थियो । अक्सिजनको कमी भएकाले उनीहरु बेहोस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

शान्तिमायाका श्रीमान सलाम तामाङले मिलन चोक स्थित कान्छा नाखुसीको ३ तले पक्की घरको भुईतलामा डेराकोठामा बस्ने आफ्नो श्रीमती शान्तीमायालाई फोन सम्पर्क गर्दा नउठेपछि भान्जा नाता पर्ने सोनाम तामाङलाई फोन गरी आफ्नो श्रीमतीको फोन नउठेको के किन हो गएर बुझ्न आग्रह गरे । सोनाम उक्त स्थानमा पुगी हेर्दा ३ जना व्यक्तिहरु आफ्नै कोठाभित्र बेहोस अवस्थामा छन् भन्ने देख्नासाथ प्रहरीलाई खबर गरेको र उक्त खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोली उक्त घटनास्थलमा पुगी हेर्दा उक्त कोठाको सम्पुर्ण झ्याल र ढोका भित्रबाट बन्द अवस्थामा रहेकोले स्थानियको सहयोगमा झ्याल ढोकाको चुकुल फोडी हेर्दा मुखबाट फिज काटी बेहोस अवस्थामा फेला पारी तत्काल उपचारको लागी मध्यपुर अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा सुनिताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

अनिताले जन्माएको बच्चा त्यसै दिन भान्जा सोनामको साथी जेम्स कुसुलेको जेठान दाइ र दिदीलाई पालनपोषणको लागि जिम्मा दिएको प्रहरीले जनाएको छ ।

सुनिता र घाइते अनिताको वैवाहिक सम्बन्ध राम्रो नरहेकोले आमासँग बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ ।

मृतकको शव काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

घाइते दुबै जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनाको अन्य आवश्‍यक अनुसन्धान कार्य भईरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १४:२१