भक्तपुरः जिल्ला बिपद् ब्यबस्थापन समिति भक्तपुरले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका बीच बर्षाको समयमा हुन सक्ने बाढी, पहिरो र डुबानबाट जिल्लाबासीलाई जोगाउन विपद् ब्यबस्थापन योजना अघि सारेको छ ।

विपद् ब्यबस्थापन योजना प्रस्तुत गर्दै बीर दल गण सुर्यबिनायकका गणपति प्रमुख कर्नेल शिबप्रसाद पौडेलले कोरोना भाइरस र बर्षा याममा हुन सक्ने संभावित बिपदको पुर्व तयारीका लागि तालिम प्राप्त जनशक्ति र स्रोत साधनको भण्डारण तयारी अबस्थामा रहेको बताए ।

विगतका बर्षामा हनुमन्ते नदी आसपास हुने डुबानले समस्या निम्त्याउने गरेको बताउँदै यस बर्ष क्षति हुन सक्ने संभाबित स्थानको पहिचान गरी अत्यावश्यक बस्तुको तैयारीलाई उच्च प्राथमिकता दिएको बताए ।


विपदमा आवश्यक जनशक्तिलाई तालिम र पुर्व अभ्यास समेत गराएर तयारी अबस्थामा राखिएको बताउँदै उनले भक्तपुर बिपद् सामग्री भण्डारणमा धनी रहेको उल्लेख गरे । खोजतलास र उद्धारका लागि समेत गतिशिल र संगठित जनशक्ति तयार रहेको उनको भनाई छ ।

कार्यक्रममा सांसद महेश बस्नेतले कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्दै बर्षायाममा बाढी पहिलोले हुन सक्ने क्षति रोक्न ल्याईएको प्रति कार्य योजना प्रभावकारी हुने बताउँदै बिपद् जोखिम न्युनिकरणमा सरोकावाला सरकारी कार्यालयबीच समन्वय जरुरी रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा विकास विरोधी मोर्चा खडा हुने गरेको बताउँदै प्रकोपमा क्विक रेस्पोन्सका लागि अभावका बीच पनि भक्तपुर तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा बिपद् ब्यबस्थापनका लागि स्थानीय तह लगायत सरोकारवाला सबैको सहयोग जरुरी रहेको बताइन् ।

कार्यक्रममा नेकपाका अध्यक्ष बचन देउजा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, डिभिजन बन अधिकृत प्रेम खनाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डे, गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले कोरोना भाइरस नियन्त्रण र संभाबित बाढी पहिरो र डुबानको नियन्त्रणका लागि गर्नुपर्ने तैयारी बारे राय प्रदान गरेका थिए ।

समितिले राय सहित मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना पारित गरेको छ । मनसुनको समयमा विपद्का घटना हुन सक्ने स्थानमा जोखिम न्युनिकरणका उपाय अबलम्बन गर्ने तथा कोभिड–१९ को संक्रमणको रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्यसँगै खोज उद्धार तथा राहतको कार्य गर्दा कोरोना फैलन नदिन पुर्व तैयारी गर्ने निर्णय गरेको छ ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, २१:०६