भक्तपुरः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भक्तपुरमा मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा थप तीन पुरुष र एक महिला गरी ४ जनाको मृत्यु भएको छ। यससँगै कुल मृतक संख्या ८८ पुरुष र ४७ महिला गरी जम्मा १३५ पुगेको छ ।

भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा धेरै संक्रमितको मृत्यु भएको छ । यहाँ ३१ पुरुष र १७ महिला गरी ४८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा ३१ पुरुष १५ महिला गरी ४६ जना, सूर्यविनायक नगरपालिकामा १८ पुरुष र १३ महिला गरी ३१ जना र चाँगुनारायण नगरपालिकामा ८ पुरुष र २ महिला गरी १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा संक्रमितको संख्या ११ हजार ७४५ पुगेको छ । जसमध्ये ५ हजार ४९९ पुरुष र ४ हजार २८० महिला गरी ९ हजार ७७९ जना डिस्चार्ज भएका छन् ।

भक्तपुरमा हाल १ हजार ८३१ जना सक्रिय संक्रमित छन्‌ । तीमध्ये ४८ पुरुष र ५० महिला गरी ९८ जना विभिन्न अस्पताल र ९ सय ५० पुरुष र ७ सय ८३ महिला गरी १ हजार ७३३ जना होम आइसोलेसनमा उपचार गराई रहेका छन् ।

मध्यपुर थिमि नगरपालिकामा ६२८ जना, सूर्यविनायक नगरपालिकामा ५७५ जना, भक्तपुर नगरपालिकामा ३०६ जना र चाँगुनारायण नगरपालिकामा २०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १२:३४