भक्तपुरः चाँगुनारायण नगरपालिका–८ रानीबारीबाट चोरीका मोटरसाइकल सहित ४ जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका–८ घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ साथै अन्य १४ वर्षीय दुइ जना बालकहरु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गएराति भक्तपुर नगरपालिका–४ राममन्दिर नजिकै पार्किङ गरी राखेको बा ३२ प ७९५३ नं. को मोटरसाइकल चोरी भएको भनि सुर्यविनायक नगरपालिका–८ थापा पार्टि प्यालेस बस्ने २५ वर्षीय राजन पोतामाहाले प्रहरी कन्ट्रोल १०० मा खबर गरे पश्‍चात तत्कालै परिसर, भक्तपुर लगायत मातहत समेतको प्रहरी डिउटी टोलीलाई चेकप्वाइन्ट खडा गरी मोटरसाइकल चोरी भएको भनि जानकारी गराएकोमा चाँगुनारायण नगरपालिका–८ रानीबारी स्थितमा महानगरीय प्रहरी प्रभाग सुडाल भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा ३२ प ७९५३ नं. मोटरसाइकल ४ जना व्यक्तिहरुले ठेल्दै डोराउँदै ल्याइरहेको हुँदा रोकी चेकजाँच तथा सोधपुछ गर्दा मोटरसाइकलको कागजात नभएकोले उनीहरुलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


चारै जनालाई मोटरसाइकल सहित महानगरीय प्रहरी बृत जगाती, भक्तपुरमा ल्याई उल्लेखित मोटरसाइकल धनि पोतामाहालाई झिकाई बुझ्दा उनको मोटरसाइकल भएको एकिन भएको हुँदा चोरी गरी लैजाने उनीहरुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरी दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको साथै बर्ष १४ का दुई बालकहरुलाई पनि बाल सुधार गृह भक्तपुरमा राखी थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ २ गते शुक्रबार, २१:१६