भक्तपुर: भक्तपुर नगरपालिका–१० कमलबिनायक बसपार्क स्थित विवाहको जन्त गई फर्कन लागेका एक जनालाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतिलाई ३ जनाले धारिलो हतियार छुरा (चक्कु) प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका भक्तपुर नगरपालिका–३ बंशगोपाल बस्ने १९ वर्षीय राम शेखर शिलाकार, सोही ठाउँ बस्ने १९ वर्षीय समिर माक र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–६ घर भई हाल बोडे बस्ने १९ वर्षीय प्रबिण बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


परिसरका सूचना अधिकृत प्रहरी निरीक्षक पञ्च लाल गोलेका अनुसार मंसिर २५ गते राति झण्डै ९ बजे कमलबिनायक बसपार्क स्थित विवाहको जन्त गई फर्कन लागेका प्रजापतिलाई छुरा प्रहार गरी गम्भिर घाईते बनाएर तीनै जना फरार भएका थिए ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले गोप्य रुपमा प्राप्त सुचनाको आधारमा उनीहरुलाई शनिबार च्याम्हासिंहबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले बताएको छ । प्रहरीले शिलाकारको साथबाट ४ सय ग्राम सुकेको गाँजा समेत बरामद र प्रहरी वृत्त जगातीमा राखको र कानुनी कारवाहीको लागि भक्तपुर जिल्ला अदालत पेश गरेको छ ।

अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।


प्रकाशित मितिः मंसिर ३०, सोमवार, १४:३१