काठमाडौंः भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने रामेछाप सोनापती गाउँपालिका–३ कामा घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या समेत गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, काठमाडौं महानगरपालिका–७ वौद्ध बस्ने सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका–२ घर भएका २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछाप धोवि गाउँपालिका–५ घर भएका २७ वर्षीय प्रेम तामाङ रहेका छन् ।

असोज २१ गते दिउँसो चन्द्रको पसलमा उनीहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको भन्ने बहाना बनाई जग्गा विक्रीबाट आउने फाइदा बाड्नुपर्छ भनी प्रलोभनमा पारी पसलदेखि १ किलोमिटर पर बिडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी उनको साथमा रहेको उक्त ब्रासलेट र मोबाईल समेत लुटि फरार भएका थिए ।


कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्न महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए ।

अनुसन्धानको क्रममा मृतक चन्द्रले कामी लामालाई दिनुपर्ने बाँकी रकम दिन आनाकानी गरेपश्चात चन्द्रलाई कुटपिट गरेर भए पनि रकम असुल्ने योजना बनाई कामी लामाले असोज १८ गते काठमाडौं नयाबस्तीमा रमेश र प्रेमसँग योजना बनाई चन्द्रको घर पहिचान गरेपश्चात असोज २१ गते दिउँसो जग्गा हेर्ने बहानामा उक्त धानखेतमा लगि उनीहरुले कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनीहरुको साथबाट घटनामा प्रयोग भएको बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल १ थान, सुन बिक्रीबाट प्राप्त रकम १ लाख ५५ हजार रुपैयाँमध्ये ५४ हजार ६ सय रुपैयाँ, १ थान हेल्मेट र १ तोला २ लाल गालेको सुन समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १९:४८