भक्तपुरः भक्तपुरमा जग्गा हेर्न आएका दुई व्यक्तिको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका–८ सुडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि जग्गा किन्न भनि आएका दुई जना अपरिचित व्यक्तिले कुटपिटबाट मृत्यु भएको हो ।

उनको बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण थेबेले जानकारी दिए ।

जग्गा हेर्न आएका दुई जनाले योन्जनलाई घरबाट एक/डेढ किलोमिटर टाढा जग्गा देखाउन भनि लगेका थिए । तर एक्कासि उनीहरुले मरणासन्न हुनेगरी कुटपिट गरी त्यहीँ छाडेर भागेका थिए ।


घाइते योन्जनलाई उपचार गर्न मध्यपुर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति नै ग्रिनसिटी अस्पतालमा रिफर गरिएको थियो ।

जग्गा सम्बन्धि काम गर्ने योन्जनलाई कुटपिट गर्नेहरु अझै फरार छन । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।


प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १७:५२