भक्तपुरः १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई बिहीबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

यसैगरी, ललितपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।


यस्तै, भोजपुरमा ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ३ गते ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १४:४०