भक्तपुरः भक्तपुरको सूर्यबिनायक मन्दिरबाट सुनौलो कछुवा सहित पक्राउ परेकालाई थुना मुक्त गराई दिन्छौं भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ भोलेनी घर भई हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका–६ सुर्यबिनायक बस्ने ३३ वर्षीय बीर बहादुर तामाङ र रामेछापको साबिक बेथान गाउँ बिकास समिति–७ हाल सुनपाती गाउँपालिका–७ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका–६ सुर्यबिनायक बस्ने २७ वर्षीय ग्याल्छेन लामा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका–६ गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।


पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनेर बिश्‍वास दिलाई ग्याल्छेन र बीरबहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीर बहादुर र ग्याल्छेनलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १९ गते सोमबार, १३:५३