भक्तपुरः भक्तपुर प्रहरीले शुक्रबार डलर देखाई रकम लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

विगत केही समयदेखि भक्तपुर जिल्लाका व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तीहरुलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै आफु सँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई नेपाली रुपैया लुटपाटका घटनाहरुमा संलग्न उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।


बिहीबार सुर्यबिनायक नगरपालिका–२ बालकोट स्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा शुक्रबार मध्यपुर थिमि नगरपालिका–९ बाट ८ जनालाई नियन्त्रणमा लिएकोमा आवश्यक अनुसन्धान पश्चात ३ जनाको संलग्नता नदेखिएकोले उनीहरुलाई छाडिएको र घटनामा संलग्नता देखिएका बाँकी ५ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

प्रहरीले उनीहरुको साथबाट ‘डलर’ भनि झुक्याउन तयार गरिएको कागजको बिटा २ बण्डल र २ लाख ४२ हजार ९३५ नेपाली रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ५ थान र २ वटा मोटरसाइकल बरामद गरेको छ ।

अन्य लुटपाटका घटनाहरु:-

 

  • मिति :- २०७७।०४।०८ गते 

 

स्थान :- जिल्ला भक्तपुर मध्यपुर ठीमी नगरपालिका वडा नं. ९ बोडे

लुटपाट भएको रकम :- ३,००,०००।–

 

  • मिति :- २०७७।०४।१९ गते 

 

स्थान :- जिल्ला भक्तपुर मध्यपुर ठीमी नगरपालिका वडा नं. ५ बोडे

लुटपाट भएको रकम :- ४,००,०००।–

 

  • मिति :- २०७७।०५।३१ गते 

 

स्थान :- जिल्ला भक्तपुर मध्यपुर ठीमी नगरपालिका वडा नं. २ बोडे

लुटपाट भएको रकम :- ५,००,०००।–

 

  • मिति :- २०७७।०६।०६ गते 

 

स्थान :- जिल्ला भक्तपुर मध्यपुर ठीमी नगरपालिका वडा नं. ९ बोडे

लुटपाट भएको रकम :- ९,८०,०००।–

 


प्रकाशित मितिः शनिबार, असोज १०, २०७७, १२:५८