भक्तपुरः नेपाल सरकारले लकडाउन लागू गरेको समयावधिमा देवाली पूजा परेको हुँदा रोग संक्रमणको जोखिमप्रति संवेदनशील हुन भक्तपुर नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर, नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि एवं स्थानीय प्रतिनिधिहरुको आइतबार सम्पन्न बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी भक्तपुरमा देवाली पूजा पछि सार्ने र हाललाई क्षमा पूजा मात्र गरी परिस्थिति अनुकूल भएपछि मनाउन सर्वसाधारण सबैमा नगरपालिकाले सबैमा आग्रह गरेको हो ।

त्यस्तै बैठकले बैशाख ११ गते मातातीर्थ औंसीको दिन आ–आफ्नो स्वास्थ्य र समाजमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आ–आफ्नो घरबाट ननिस्किकन सामान्य रुपमै आमाको मुख हेर्ने पर्व सम्पन्न गर्न नगरबासीहरुमा आग्रह गर्ने निर्णय गरेको छ ।


कोरोना भाइरस रोगको रोकथामको लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको लकडाउनको बेला बिस्काः जात्रा पर्व परेकोमा नगरपालिका, जिल्ला प्रशासन, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, टोल टोलका गुठी नाइके, जात्रा सहयोग समिति, टीम–क्लब, स्वयंसेवक एवं स्थानीय जनताको सहयोगमा नगरवासीहरुले सामान्य पुजामा सीमित गरी जात्रा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको समेत प्रमुख प्रजापतिले बताए ।


प्रकाशित मितिः मंगलबार, वैशाख ९, १८:२७