भक्तपुरः अष्ट्रिज चराको ब्यवासायिक उत्पादन भक्तपुरको गुण्डुमा याने कि काठमाडौं उपत्यकामै पहिलो पटक सुरु गरिएको छ । सूर्यबिनायक नगरपालिका–७, गुण्डुको किवाचोकमा चुनदेवी एग्रो टेक प्रा.लि.ले पहिलो पटक सरकारबाट स्वीकृति लिएर अष्ट्रिजको व्यवासायिक पालन सुरु गरेको हो ।
यसअघि दाङ र बुटवलमा मात्र अष्ट्रिजको ब्यवासायिक उत्पादन सुरु गरिएको थियो ।

भक्तपुर कटुञ्जेका २९ वर्षीय राम सुवाल र ३० वर्षीय सन्दिप खनालले मिलेर ६ वटा अष्ट्रिज पालन सुरु गरेका छन् ।


। उनीहरुले बुटबलबाट ६ वटा बच्चा ल्याएर अष्ट्रिज पालन सुरु गरेका हुन् ।

१३ रोपनी जग्गा भाडामा लिए हाल करीब ६० लाख लगानीमा अष्ट्रिजसहित विभिन्न जातका कुखुरा, हाँस माछा, लौकाट, टर्की र बट्टाई पालन व्यवसाय सुरु गरेको सञ्चालक खनाल बताउँछन् ।

मासुमा आत्मनिर्भर रहन नेपालमा आफूहरु यस तर्फ आर्कषित भएको बताउँदै भक्तपुरमा पनि यसको व्यावसायिक व्यवसाय गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको उनले बताए ।

उक्त अष्ट्रिज अहिले ८० किलोको रहेको बताउँदै २५० किलोसम्म हुने अर्का सञ्चालक सुवाल बताउँछन् ।

अरु व्यवसायको तुलनामा अष्ट्रिच पालनमा सम्स्याका साथै चुनौती रहेको बताउँदै सुवाल भन्छन्, कुनै पनि व्यवसाय सुुरू गर्दा समस्याहरु त हुन्छन नै त्यो स्वाभाविकै हो । एउटा गाई पाल्दा पनि कति समस्याहरु आइ लाग्छ भने अष्ट्रिच पाल्नु भनेको त नयाँ कुरा, नयाँ विषय त्यसमा पनि बिल्कुलै नयाँ प्रजातीको चराको व्यावसायिक फार्म खेती गर्दा समस्या भईहाल्छ ।

सुवालले विदेशमा रोजगारमा जाने युवाहरुलाई विदेश नगई यही कृषि पेशामा काम गरे पैसासँगै आत्मसन्तुष्टि हुने बताए ।

बजारमा प्रतिकेजी १ हजार ४ सय देखि १ हजार ७ सय रुपैयाँ सम्ममा बिक्री हुने अष्ट्रिजले दाना र घाँस खाने गर्दछ । अष्ट्रिजलाई दैनिक तीन पटक दाना, घाँस र दुई पटक पानी खुवाउने गरेको खनालले जानकारी दिए ।

यो फार्ममा ६ वटा अष्ट्रिजसँगै १ सय लौकाट र ४ सय टर्की, १३ सय बट्टाई, १२ वटा खरायो, करीब ३ सय लोकल कुखुरा ३ सय गिरीराज कुखुरा, ३ सय वटा जंगली कुखुरा, ५५ वटा हाँस र २५ सय माछा उनीहरुले पालेका छन् ।

यो नयाँ व्यावसायिक व्यवसाय सञ्चालनले नयाँ किसानहरुको लागि उत्प्रेरक भूमिका खेल्नेछ ।


प्रकाशित मितिः सोमबार, मंसिर ३०, ११:४९