भक्तपुरः भक्तपुरमा भएको छुटाछुटै सवारी दुर्घटनामा दुई जनको मृत्यु भएको छ ।

आइतबार राति भक्तपुर नगरपलिका–१० कमलविनायक भत्केकोपाटीमा मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

खरिपाटीबाट कमलविनायकतर्फ आउँदै गरेको बा ९५ प १४५५ नं. को मोटरसाइकल आफैं अनियन्त्रीत भई सडकको नालीमा खस्दा भक्तपुर कमलविनायकका १७ वर्षीय रन्जित महाजुको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिएको छ ।

डीएसपी गिरीअनुसार रन्जितको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।


त्यस्तै, भक्तपुरको मध्यपुर थिमी नगरपालिक–९ बोडेमा गत जेठ २९ गते बा ५ ख ४३११ नं. को पानी ट्यांकर र बा ९२ प ७०७७ को स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर पछाडी चढेकी काठमाडौ कागेश्वरीका ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए ।

लक्ष्मीको हिजो आइतबार राति अन्नपुर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिने पानी ट्यांकर र चालक रामेछाप घर भई भक्तपुर कमलविनायक बस्ने ४१ बर्षीय राजकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः सोमबार, असार १, २०७७, ०९:५३